कांग्रेस महाधिवेशन : मतदानको पूर्व सन्ध्यामा निर्णायक ‘मुभ’ मा उम्मेदवारहरु


२६ मंसिर २०७८, आईतवार
congress 6 sabhapati

काठमाडौं : नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि सोमबार मतदान हुदैछ । १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी छ।

महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ-शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ । मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । निर्वाचनका लागि काठमाडौं प्रशासन कार्यालयको सुरक्षा समितिले सुरक्षा व्यवस्थालाइ चुस्तदुरुस्त राखेको जनाएको छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।

निर्णायक ‘मुभ’
कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला समूहले आइतबार प्रतिनिधिलाई भोट माग्न कार्यक्रमको आयोजना गरेका थिए ।

दिनभर देउवा

सभापति देउवा आज बिहानैदेखि दौडधुपमा थिए । देउवा लैनचौरस्थित एक ब्यांकेटको कार्यक्रम हुदै कांग्रेसको आदिवासी जनजाति विभागले आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डमा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा सहभागी भए । त्यस बाहेक समय उनले भृकुटीमण्डपमै बिताए । देउवाले दिउँसोको खाना त्यहीँ खाए ।

मत माग्दै सभापति देउवाले आफू महाधिवेशनमा पराजित भए गठबन्धन सरकार ढल्ने जिकिर गरे । आफ्नो सरकार बचाउने हो भने सभापतिमा जिताउनुपर्ने उनको भनाई छ । देउवाले भने, ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार चुनावसम्मका लागि टिकिरहनेछ । मैले चुनाव हारेको खण्डमा शेरबहादुरको नेतृत्वमा प्रधानमन्त्रीमा बस्नै पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैजनाले । त्यसकारणले पनि पार्टी सभापति जित्नु आवश्यक छ ।’

देउवाले यसपटक आफूले पार्टी सभापति जितेका तीनै तहका चुनावमा काँग्रेसलाई जित दिलाउने दाबी गरे । देउवाले भने, ‘यो मेरो अन्तिम बेला हो । ओलीलाई हटाएर म प्रधानमन्त्री बनेको छु । यदि मैले जितेको खण्डमा मात्रै यो पार्टीलाई सबै गाउँदेखि माथिसम्मको सरकार बनाउन सक्नेछु । आफ्नो विषयमा धेरै बोल्नु उचित हुँदैन, तैपनि बोलेको छु, माफ गर्नुहोला ।’

नेता कृष्ण सिटौलाले अनेक विवादका बीच देउवाले पार्टीलाई बचाएको र अब पनि एकतावद्ध बनाउन सकिने उनले बताए । देउवाका लागि भोट माग्दै सिटौलाले भने, ‘ अबको केही महिनापछि चुनाव गर्नुपर्नेछ । सभापतिमा हारेको प्रधानमन्त्री बोकेर चुनावमा जाने ?’

देउवा–सिटौला समूहका मुख्य नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेर प्रतिनिधिहरुसँग विभिन्न तरिकाले सम्पर्क गरीरहेको एक नेताले बताए । देउवा–सिटौला समूहका दोस्रो तहका नेताहरु भने समूह समूह बनाएर प्रतिनिधि बसेको होटलमा परिचालित भएका छन् ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंह र महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा (सिंह–शर्मा) समूह पनि दिनभरी प्रचार प्रसारमा जुटेका थिए । आइतबार राती अबेरसम्म उनीहरु प्रतिनिधि बसेका होटलमा पुगेका थिए ।

प्रतिनिधिसँग दिनभर डा. शेखर कोइराला

शेखर कोइराला प्यानलले आइतबार पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राखेका थिए । पत्रकार सम्मेलनमा चुनाव हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरे ।

पार्टीमा नेतृत्व परिर्वतन हुने, तर गठबन्धन सरकार अझ दरिलो भएर जाने उनको भनाई छ । उनले भने, ‘म त अझ के भन्छु भने नेतृत्व परिर्वतन हुन्छ, हुन्छ हुन्छ । तर त्यो नेतृत्व परिर्वतनले गठबन्धन सरकार अझ दरिलो भएर जान्छ । हामी उहाँहरु जस्तो गैरजिम्मेवार भएर काम गर्न चाहँदैनौं, गर्दा पनि गर्दैनौं ।’

महाधिवेशनपछि आफ्नो टिमले शेरबहादुर देउवा, रामचन्द्र पौडेल र ढा. शशांक कोइरालाजस्ता अनुभवी नेताहरुको मार्गदर्शन अनुसार काम गर्ने शेखरले बताए । उनले भने, ‘हाम्रा अनुभवी नेताहरु हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुरजी, बरिष्ठ नेता रामचन्द्र पौडेलजी हुनुहुन्छ, महामन्त्री डा. शशांक कोइराला हुनुहुन्छ । उहाँहरुको अनुभवलाई लिएर हामी अगाडि बढ्छौँ ।’

पत्रकार सम्मेलन बाहेक डा. शेखर कोइरालाको समूह दिनभर पदाधिकारीका उम्मेदवारसँगै भृकुटीमण्डपमा बसे ।

पत्रकार सम्मेलनमा महामन्त्रीका उम्मेदवार गगन थापाले डा.शेखर कोइरालाको नेतृत्वमा उज्यालो कांग्रेस देखिने बताएका छन् । थापाले आफ्नो पार्टीमा ‘बा’को लिस्टको कुनै अर्थ नहुने समेत बताए ।भने, ‘एमालेको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु नारायणी किनारबाट होटल हेरेर ‘बा’ले कुन लिस्ट ल्याउनुहुन्छ भनेर पर्खेर बसेका देखिन्थे । तर कांग्रेसमा त्यस्तो छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७