कांग्रेस महाधिवेशन : आज १३२ पदका लागि मतदान, पौडेलले देउवालाई समर्थन गरेका हुन् ?


२७ मंसिर २०७८, सोमबार
ramchandra sherbahadur OoN9Gqeocd

काठमाडौं, २७ मंसिर । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज (सोमबार) बिहानबाट मतदान शसुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान शुरु गर्ने तयारी रहेको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश-२ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ । निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना शुरु हुने छ । कांग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । निर्वाचनमा मतदानका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । त्यस्तै, निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिनेछ । आजको मतदानमा ४,७३० मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

रामचन्द्रले देउवालाई समर्थन गरेको दावी
गुनासो गर्दै पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनअन्तर्गत आज (सोमबार) हुने चुनावमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको दाबी गरिएको छ ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा देउवालाई समर्थन गर्ने सहमति भएको दाबी गरेका हुन् । वरिष्ठ नेता पौडेल भेट्न प्रधानमन्त्री देउवा आइतबार बिहान पौडेल निवास (बोहोराटार) पुगेका थिए । त्यस क्रममा पौडेलले आफ्नो पूरा समर्थन देउवालाई रहेको बताएको बालुवाटार स्रोतको दाबी छ ।

आफ्नो (संस्थापन इतर) समूहले आफूलाई सभापति पदको सर्वसम्मत उम्मेदवार नबनाएपछि जारी महाधिवेशनको प्रतिस्पर्धाबाटै अलग भएका पौडेलले आफ्नो समर्थन देउवालाई दिएको परियारको दाबी छ । ‘बुबाले पार्टी सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नु भएको छ’, पौडेलका छोरा चिन्तनको भनाइ उद्धृत गर्दै देउवाका प्रेस संयोजक परियारले भने ।

त्यस्तै महामन्त्री समेत रहेका बीपी पुत्र शशांकले पनि पार्टी सभापतिमा अनुभवी र परिपक्व व्यक्ति आवश्यक रहेको भन्दै आफ्नो समर्थन देउवामा रहेको जनाएको परियारको दाबी छ । देउवा भेट्न शशांक आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका थिए । शशांक देउवाकै प्यानलबाट खुलातर्फ केन्द्रीय सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७