कांग्रेस चुनावको रौनक : मतदाता समक्ष भोट माग्दै गगन थापा


२७ मंसिर २०७८, सोमबार
gagannnnn1639366032 1

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज (सोमबार) मतदान हुँदैछ । मतदानका लागि मतदाता लाइनमा बसेका छन् ।

मतदान शुरु हुनै लाग्दा उम्मेदवारहरु भोट माग्न व्यस्त देखिएका छन् । महामन्त्रीका उम्मेदवार गगन थापा पनि मतदातासमक्ष भोट मागिरहेका छन् । उनी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।

बिहान ८ बजेबाट शुरु हुने भनिए पनि मतदान अहिलेसम्म शुरु हुन सकेको छैन । साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान पश्चात् आजै सभापतिको मतगणना शुरु हुनेछ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३४ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी रहेको पद भने सभापति निर्वाचित भएपछि मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।

जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
महाधिवेशनका लागि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक संघ-संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । भृकुटीमन्डपको प्रांगणमा प्रदेश नम्बर-२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर-१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग-अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमन्डप प्राङ्गगणमा २९३ बुथ र भृकुटीमन्डपको हलमा ५१४ बुथ राखिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७