कांग्रेस निर्वाचन : सभापतिका उम्मेदवार देउवाले गरे मतदान


२७ मंसिर २०७८, सोमबार
deuwa 4
मतदान गरेर फर्किदै देउवा

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेस सभापतिका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । आज (सोमबार) दिउँसो राष्ट्रिय सभा गृहमा पुगेर देउवाले मतदान गरेका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान शुरु हुने तालिका भए पनि प्राविधिक कारण साढे ११ बजे मात्रै मतदान शुरु भएको थियो । समितिका अनुसार महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ। भृकुटीमण्डपको हलमा प्रदेश-१, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश-२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

मतदान गर्न बिहान साढे ७ बजेदेखि महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन् । प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन् । १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ । मतदान गर्न एक जनालाई कम्तिमा ३५ मिनेट लागेको छ ।

सभापति उम्मेदवार डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि लगायतले पनि मतदान गर्ने तयारी गरेका छन् । सोमबार पदाधिकारी र सदस्यका लागि मतदान हुँदैछ । निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन् । १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७