शेयर बजार नीति भन्दा पनि हल्लाका भरमा चलेको देखियो : अर्थमन्त्री


२७ मंसिर २०७८, सोमबार
janardan

काठमाडौं, २७ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले एउटा नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु राम्रो नभएको बताएका छन् । सोमबार बिमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । यसअघि शनिबार पार्टीको प्रदेश सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादको विकासले जनताको हित नगर्ने बताएका थिए ।

कुनै नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु भनेको समग्र पुँजी बजारको संरचना र स्थायित्वमा प्रश्न उठेको शर्माले बताए । एउटा मन्त्रीले सेयर बजार बढाउने वा घटाउने काम नगर्ने भन्दै उनले थपे, ‘हाम्रो सेयर बजार नीति निर्देशनबाट भन्दा पनि हल्लाको भरमा चलेको देखियो । बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्ने बनाउनु पर्छ ।’

त्यस्तै उनले कोरोना बिमामा सरकारले तिर्नुपर्ने दायित्व छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए । मापदण्ड अनुरुप सरकारले दिनुपर्ने रकम नदिएकै कारण विगत एक वर्ष देखि बिमितले दाबी भुक्तानी नपाइरहेको अवस्थामा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । बिमा समितिले हचुवाको भरमा कोरोना बिमा पोलिसी ल्याएकाले भुक्तानीमा सरकारलाई ठूलो आर्थिक भार परेको उनले आरोप लगाए । कोरोना बिमा पोलिसीलाई लक्षित गर्दै उनले भने, ‘अब कुनै पनि पोलिसी ल्याउँदा त्यसको असरबारे २० पटक सोच्नुस् ।’ यद्यपि कोरोना बिमाको रकम भुक्तानीबारे अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको उनले दोहोर्‍याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७