एमालेले विगतमा गरेको संसद अवरोध संविधान सम्मत छैन : सभामुख

‘संसदमा सभामुखको भूमिका ’अम्पायर’ जस्तो’


२७ मंसिर २०७८, सोमबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, २७ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन् । आज (सोमवार) नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलि मङ्गलवारदेखि शुरु हुने हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताए । उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताएका छन् ।

सभामुख सापकोटाले भने, ‘मुख्यतः सदन भनेपछि पार्टीहरूकै भूमिका निर्णायक हुन्छ । सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ । हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौँ । संविधानले, नियमले, कानुनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरू भोलि नै हुन्छ । अरू त क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो । मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, संसद् चलाऔं भनेर उहाँहरूसित छलफल गर्ने र फेरि पार्टीहरूसँग छलफल गर्ने, आवश्यकताअनुसार फेरि सर्वदलीय बैठक गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ ।’

सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेन्डा रहेको उल्लेख गरे । सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत नभएको बताए । उहाँले आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए ।

भोलिदेखि संसद् अधिवेशन शुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वर पुगेर संसद् सचिवालयको तयारीको अवलोकन गरेका छन् । संसद् बैठकका लागि सम्पूणर् तयारी पूरा गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसद र कर्मचारीहरूको एन्टिजेन परीक्षण भइरहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७