प्रचण्डको अभिव्यक्तिपछि दोस्रो दिन पनि शेयर बजारमा पहिरो, लगानीकर्ताले गुमाए दुई खर्ब ३६ अर्ब


२७ मंसिर २०७८, सोमबार
share market

काठमाडौं, २७ मंसिर । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजी बजारलाई साम्राज्यवादका विकसित रूप भनेपछि आज (सोमबार) शेयर बजार ७९ अंकले घटेको छ । अध्यक्ष प्रचण्डको यस अभिव्यक्तिकै कारण आइतबार पनि शेयर बजार ८८ अंकले ओरालो लागेको थियो ।

प्रचण्डका कारण दुई दिनमा सूचक १६८ अंकले घटेर २२८२ अंकमा झरेको छ । दिनभरीमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । बजार पुँजीकरणका हिसाबले यी दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन् । सोमबार पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको छ ।

बजार शुरुबाटै घटेको थियो । बिहान खुल्ने बित्तिकै करिब ६५ अंकले घटेको बजार त्यसपछि सम्हालिएको थियो । पछि फेरि बजारले घट्ने अन्तर बढाएको हो । सवा १ बजेसम्म बजार १०२ अंकले घटिसकेको थियो । पछि बजार केही सम्हालिएर बन्द भएको हो । केही कम्पनीको मूल्य बढे पनि बाँकी जम्मैको घटेको छ ।

प्रचण्डले शनिबार आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको सोमबार बताएका छन् । यद्यपि उनले अहिलेको नेपाली पुँजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।

लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने उनले बताएका थिए । शेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको पुनः दोहोर्यालएका हुन् ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने ’अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।’ मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७