प्रचण्ड र माधव नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्ने मिसनमा छन् : शंकर पोखरेल


२७ मंसिर २०७८, सोमबार
shankar pokhrel 1

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन् ।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दाबी गरे ।
उनले प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरो पसमेत लगाए । महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौती रहेको भन्दै दाहाल र नेपाल गलत मार्गमा रहेको आशय व्यक्त गरेका थिए ।

‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने बित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्यूत भएर दक्षिणपन्थीको सेवामा सर्मपित गरिहाल्ने । यो इतिहासको शिक्षा हो । उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहालको जीवनमा पनि देखियो । हाम्रै आन्दोलनको लामो समयको नेताका रुपमा रहनुभएका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रुपमा जिम्मेवारी सुम्प्यौं, उहाँलाई नेता मान्यौं । उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो,’ नेता पोखरेलले भने ।

दाहाल र नेपालले कांग्रेसलाई नेता बनाएर दक्षिणपन्थी अवसरवादमा लागेको पोखरेलको आरोप थियो । ‘दाहाल र माधव नेपालहरू कांग्रेसलाई नेता बनाएर, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लाग्नुभाछ । दक्षिणपन्थी अवसरवाद भनेको यही हो । यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ,’ उनले भने । यस्तै महासचिव पोखरेलले एमालेलाई आगामी निर्वाचनमा तिनै तहमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको पनि बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७