कांग्रेस निर्वाचन : दिउँसो ३ः३० सम्ममा १६ सय मत खस्यो, मतदानस्थलको गेटमै भोट माग्दै देउवा

मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो


२७ मंसिर २०७८, सोमबार
deuba

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनका लागि आज (सोमबार) भएको मतदानमा एक हजार छ सय मत खसेको छ । मध्यान्ह १२ बजेदेखि शुरु भएको मतदानमा दिउँसो ३ः३० बजेसम्म १६ सय मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिएका छन् । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ३४३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण) मा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ रहेको छ ।
मतदानस्थलको गेटमै भोट माग्दै देउवा
नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार शेरबहादुर देउवा राष्ट्रियसभा गृहस्थित मतदानस्थलमै छिरेर भोट मागिरहेका छन् । सोमबार मध्यान्ह पौने १२ मै मतदानमा सहभागी भएका देउवा फेरि मतदानस्थलमा आएर भोट मागिरहेका छन् । उनी महाधिवेशन प्रतिनिधिहरु मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्न व्यस्त भएका हुन् ।

मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो
नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।

मतादनका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको छ । प्रतिनिधिहरुले अहिले हो-हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् । भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि सोमबार बिहान ११ बजेदेखि मतदान शुरु भएको हो । महाधिवेशनमा करिब ४६ भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७