भोलि संसद बैठक बस्दै, सम्भावित कार्यसूचीमा परेन ‘एमसीसी’


२७ मंसिर २०७८, सोमबार
agni

काठमाडौं, २७ मंसिर । प्रतिनिधि सभाको बैठक भोलि (मंगलबार) २ बजे बस्दैछ । बैठकमा सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश हुँदैछन् । कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

भोलि (मंगलबारदेखि) हुने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कार्यसूचीमा परेको छैन । यस्तै, सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नेछन् ।

भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पेश गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८,‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पेश गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७