कांग्रेस महाधिवेशन : घण्टौं लाइन बस्दा पनि मतदानको पालो नआएपछि प्रतिनिधि आक्रोशित

मतदान सकिना साथ गणना हुने


२७ मंसिर २०७८, सोमबार
congress matadata

काठमाडौं, २७ मंसिर । कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (सोमबार) मतदान भइरहेको छ । बिहानदेखि लाइनमा बसेका कांग्रेस प्रतिनिधिहरू मतदानको पालो नआएपछि आक्रोशित बनेका छन् । केन्द्रीय निर्वाचन समितिले विहान ८ बजेदेखि मतदान गर्ने समय तोकेको थियो । महाधिवेशन प्रतिनिधिहरू बिहान ७ बजेनै प्रदर्शनी मार्ग पुगेर लाइन लागेका थिए । तर, समितिले बेलैमा मतपत्रकै व्यवस्थापन समेत गर्न सकेन ।

मतपत्र नआउँदा करिब साढे तीन घण्टा ढिलो गरेर मतदान शुरु भएको थियो । निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले मतपत्र छपाईमै ढिला हुँदा मतदान प्रभावित हुन पुगेको बताएका छन् । ‘मतपत्र छाप्नुपर्‍यो, सिरियल नम्बर राखेर हस्ताक्षर गर्नुपर्‍यो,’ उनले भने, ‘त्यहीकारण मतदान केन्द्रसम्म मतपत्र पुग्न केही ढिला भयो ।’

मतदान गर्न धेरै समय लागेकाले पनि समस्या भएको उनले बताए । ‘एक व्यक्तिले १३४ पदमा मत खसाल्नु पर्छ । छुट्टा-छुट्टै २९ मतपत्रमा मतदान गर्नुपर्छ,’ उनले भने, ‘जसकारण केही ढिला भइरहेको छ ।’

एक व्यक्तिलाई मतदान गर्नै एक घण्टासम्म लागेपछि कार्यकर्ताहरू निर्वाचन समितिको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आक्रोशित बनेका छन् । बिहान जोश, जाँगरसहित मैदानमा उत्रिएका उम्मेदवार मात्रै होइन, उनका प्रचारमा खटिएका कार्यकर्ता समेत थाकेका छन् । लाइनमा उभिँदा उभिदै जाडो र खुट्टा गलेर ढल्ने अवस्था आएको भन्दै महाधिवेशन प्रतिनिधिहरू लाइन छाडेर हिड्न थालेका छन् ।
‘बिहानदेखि उभिएको हो, अहिलेसम्म पालो आएको छैन,’ एक प्रतिनिधिले भने, ‘अझै कतिञ्जेल उभिनुपर्ने हो ? ठेगान भएन ।’ सभापतिका प्रत्यासी एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै मतदानका लागि करिब एक घण्टा लगाए । केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा मतदान गरेका थिए ।

सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले आफूले ५१ मिनेटमा मतदान गरिसकेको सुनाए । ‘मैले नचिनेका उम्मेदवार कोही थिएनन्, मलाई सजिलै भयो, मैले फटाफट मतदान गरेको हुँ, तैपनि मलाई ५१ मिनेट लाग्यो,’ उनले भने । मतपत्र व्यवस्थापनमा ढिला भएका कारण ४ बजेपछि केहीबेर मतदान रोकिएको थियो । ‘अघि केहीबेर रोक्नैपर्ने अवस्था भयो, तर अब समस्या छैन,’ निर्वाचन समितिका सदस्य रावलले भने, ‘हामीले हस्ताक्षर गरेर मतपत्र केन्द्रमा पुर्‍याइसकेका छौँ ।’

उनले राति ९ बजेसम्म मतदान सम्पन्न हुने बताए । ‘हामीले ५ बजेसम्मको समय तोकेका थियौँ, सकिएन । तर अब ९ बजेसम्ममा मतदान सकिन्छ भन्ने हाम्रो अनुमान हो,’ उनले भने । समितिले ९ बजेसम्म मतदान गर्ने समय थप गरेको छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् । अहिलेसम्म २५ सयले मतदान गरिसकेको समितिका सदस्य रावलले बताए । मतदानमा ढिलो हुँदा महाधिवेशन प्रतिनिधिहरू मात्रै होइन, उम्मेदवार पनि हैरान भइसकेका छन् । ‘विहानदेखि यतै छु, खुट्टाले उभिन नसक्ने अवस्था भएको छ,’ एक उम्मेदवार भन्दै थिए, ‘तैपनि उभिएर भोट माग्नैपर्ने अवस्था छ ।’ मतदान सकिएपछि सभापति पदको मतगणना तुरुन्तै शुरु हुने समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७