बेलायतमा ओमिक्रोनबाट एक जनाको मृत्यु


२८ मंसिर २०७८, मंगलवार
Omicron Virus KNmtMCm4wM

काठमाडौं, २९ मंसिर । कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलो पटक बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोन संक्रमितका कारण अस्पतालहरूमा चाप बढेको बताएका छन् । उनले सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउन आग्रह गरेका बीबीसीले जनाएको छ ।

राजधानी लन्डनस्थित एक खोप केन्द्रको भ्रमण गर्दै जोन्सनले ‘ओमिक्रोनका लक्षणहरू मध्यम खालका हुने भन्ने मानसिकता त्याग्नुपर्ने’ बताएका छन् । ‘दुःखसाथ भन्नुपर्छ- ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या बढको छ र यसका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ,’ पश्चिम लन्डनको पडिङ्टनस्थित खोप केन्द्र पुगेका जोन्सनले भने ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले बुस्टर डोजका लागि कम्तीमा एक लाख जनाले नाम दर्ता गर्न खोजेपछि वेबसाइटमा समस्या उत्पन्न भएको जनाएको छ । त्यस्तै, कतिपय खोप केन्द्रमा आइतबार र सोमबार मानिसहरूको लामो लाम लागेको बताइएको छ ।

यसअघि, बेलायती वैज्ञानिकहरूले ओमिक्रोनबाट बच्न खोपको दुई मात्रा मात्र पर्याप्त नहुने चेतावनी दिएका थिए । ओमिक्रोन र डेल्टा संक्रमितबारे गरिएको अध्ययनका आधारमा वैज्ञानिकहरूले नयाँ भेरिएन्टको संक्रमणबाट सुरक्षित रहन तेस्रो अर्थात् बुस्टर डोज आवश्यक हुने बताइसकेका छन् । बुस्टर डोज लिएको खण्डमा कोभिडबाट सुरक्षित हुने सम्भावना ७० देखि ७५ प्रतिशत हुने जनाइएको छ । बेलायती वैज्ञानिकहरूले ओमिक्रोन र डेल्टा भेरिएन्टबाट संक्रमित करिब ६ सय जनामा गरेको अध्ययनका आधारमा उक्त नतिजा सार्वजनिक गरेका हुन् ।

बेलायतमा हरेक दुई/तीन दिनमा ओमिक्रोन संक्रमितको संख्या दोबर हुने गरेको छ । यदि संक्रमणको दर हालकै जस्तो रहेको खण्डमा डिसेम्बर अन्त्यसम्म दैनिक एक लाख जना ओमिक्रोनबाट संक्रमित हुने अनुमान स्वास्थ्य अधिकारीहरूको छ । बेलायतमा हालसम्म १ लाख ४६ हजार जनाको कोभिड-१९ को संक्रमणका कारण ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७