कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान शुरु, देउवाले गरे मतदान केन्द्र निरीक्षण


२८ मंसिर २०७८, मंगलवार
matadan1639363308

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान शुरु भएको हो । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । पहिलो चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ७६ मत बदर भएको थियो । निर्वाचन समितिका अनुसार खसेको ४६७९ मध्ये ७६ मत बदर भएको हो ।

समितिका अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २,२५८ मत ल्याए भने शेखर कोइरालाले १,७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।
मत मागेर मतदान केन्द्रको निरीक्षणमा
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसको सभापति पदका उमेदवार शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिहरूसँत मत मागेका छन् । मंगलबार दिउँसो महाधिवेशनस्थल काठमाडौंको प्रदर्शनी मार्गमा पुगेर उनले मत मागेका हुन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन शु भएको हो । पहिलो चरणमा धेरै मत ल्याएका देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुँदैछ । महाधिवेशन प्रतिनिधिहरूसित मत मागेर देउवा मतदान केन्द्रको निरीक्षणका लागि राष्ट्रिय सभागृहभित्र गएका छन् ।

यसअघि, सभापतिका अर्का उमेदवार कोइरालाले पनि महाधिवेशन प्रतिनिधिहरूसित मत मागेका थिए । त्यसपछि उनी पनि मतदान केन्द्रको निरीक्षणका लागि राष्ट्रिय सभागृहभित्र गएका थिए । राष्ट्रिय सभागृहमै दोस्रो चरणको मतदान हुँदै छ । मतदानपछि मतगणना र आजै नतिजा सार्वजनिक गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७