सभापति टुङ्गो लागेसँगै अन्य पदतर्फकाे मतगणना आजै


२९ मंसिर २०७८, बुधबार
congress 2nd

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको टुङ्गो लागेसँगै अरु पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै (बुधबार) शुरु हुने भएको छ । अन्य पदाधिकरीका मतपेटिका चुनावकै दिन सोमबार राति पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा लगेर राखिएका छन् । आज मत गन्न थालेर आगामी पुस ५ गतेभित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

सोमबारै भएको चुनावमा सभापतिका पाँच उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा मतदान गर्दा प्रधानमन्त्री शेरबहादुर विजयी भएका हुन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार राति ११ बजेदेखि जारी सभापतिको मतगणना अघि बिहान साढे २ बजे सकिएको हो । सार्वजनिक मत परिणामअनुसार प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतान्तरले हराउँदै देउवा सभापति पदमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार कूल खसेको ४,६२३ मतमध्ये देउवाले २,७३३ मत प्राप्त गरे भने कोइरालाले १,८५५ मत ल्याए । ३५ मत बदर भएका छन् । कांग्रेस सभापति पदका लागि दोस्रो चरणको चुनावमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याई पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ गरी पाँच उम्मेदवार थिए ।

कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो । पहिलो चरणमा ४,६८१ मत खसेको थियो । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको मत गन्न बाँकी छ । कांग्रेसमा पहिले पार्टी प्रमुख (सभापति) को छिनाफोना भएपछि मात्र अन्य पदाधिकारीतर्फ मत गन्ने चलन छ । कांग्रेसको १४औं महाधिवेशन गत २४ गते भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७