देउवा झन् शक्तिशाली : कांग्रेसको कमान्ड देउवाकै काँधमा

कांग्रेसको इतिहासमा कोइराला परिवारबाहिरबाट सभापतिमा दोहोरिने देउवा पहिलो नेता


२९ मंसिर २०७८, बुधबार
Sher Bahadur Deuba 1
?????????????????????????????????????????????????????????

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन् । १४औं महाधिवेशनअन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा २७ सय ३३ मत प्राप्त गर्दै उनी सभापतिमा दोहोरिएका हुन् । कांग्रेस इतिहासमा कोइराला परिवारभन्दा बाहिरबाट सभापतिमा दोहोरिने देउवा पहिलो नेता हुन् ।

देउवाले कुल खसेको मतको ५९.१२ प्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८ सय ५५ अर्थात् ४०.१३ प्रतिशत मत पाए । कुल खसेको ४६ सय २३ मतमध्ये ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

०७२ मा भएको १३औँ महाधिवेशनबाट देउवा पहिलोपटक सभापति निर्वाचित भएका थिए । पार्टीभित्र लामो अन्तर्संघर्ष गर्दै उनी नेतृत्वमा पुगेका थिए । ०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका देउवा ०५७ मा पोखरामा सम्पन्न नवाँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए ।

०७० माघमा भएको संसदीय दलको नेताको चुनावमा पनि उनी सुशीलसँग पराजित भएका थिए । चर्को अन्तर्संघर्षकै कारण कारबाहीमा परेपछि देउवाले आफ्नै नेतृत्वमा ०५९ असारमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । ०६४ सम्म उनले त्यसको नेतृत्व गरे । अहिले उनी पाँचौं पटक प्रधानमन्त्री छन् ।

पहिलो चरणमा प्रतिस्पर्धामा उत्रिएका पाँच उम्मेद्वारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको थियो । कुल चार हजार सात सय ४३ मतदातामध्ये पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेका थिए, जसमा देउवाले दुई हजार दुई ५८ अर्थात ४८.२५ प्रतिशत मत पाएका थिए । जितका लागि उनलाई ८२ मत अपुग भएको थियो । दोस्रो चरणमा देउवाले नौ सय सात मतान्तरले जित निकालेका छन् ।

पहिलो चरणमा सभापतिका अन्य प्रत्याशी प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु हुने भनिएपनि डेढ घन्टा ढिला सुरु भएको थियो । राती करिब १० बजे मतदान सकिएलगत्तै गणना सुरु भएको थियो । बुधबार बिहान ३ बजे निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको छ ।

पहिलो चरणमै जित नजिकको नतिजाबाट उत्साही थिए देउवा
पहिलो चरणको निर्वाचनमै झन्डै जितनजिक पुगेपछि देउवामा दोस्रो चरणमा सजिलै जित निकाल्न सक्ने आत्मविश्वासे बन्यो । त्यसैअनुसार उनले दोस्रो चरणको निर्वाचनको तयारी र संवाद अगाडि बढाए । आफूले हारे गठबन्धन सरकार जोखिममा पर्छ र त्यसो हुँदा कांग्रेस नेतृत्वमा चुनाव हुँदैन भन्ने देउवाको सन्देश पनि अर्थपूणर् रह्यो ।

दोस्रो चरणमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि समर्थन गरेपछि देउवाले सजिलै जित हात पारे । पहिलो चरणमा देउवालाई ४५ प्रतिशतभन्दा कम मतमै रोक्न सके दोस्रो चरणमा आफूअनुकूल नतिजा ल्याउन सकिने सिंह र निधिको आकलन थियो । तर, देउवाले उनीहरूले सोचेभन्दा बढी मत ल्याए ।

सिंह र निधिमध्ये एकले सघाउँदा पनि देउवाले दोस्रो चरणमा सजिलै जित हात पार्ने अवस्था थियो । आफूभन्दा ‘जुनियर’ नेता शेखरलाई सभापति बनाउन पनि सिंह र निधिलाई सहज लागेको थिएन । त्यसैले उनीहरू जोखिम नमोलेर राजनीतिक भविष्य हेर्दै देउवासँग सहकार्य गर्न तयार भए । जसलाई देउवाले पनि उचित ‘रेस्पोन्स’ गरे ।

केन्द्रीय सदस्यमा मनोनीतदेखि आगामी चुनावमा टिकट वितरणसम्ममा आफू र आफूनिकटका नेताहरूलाई सहज बनाउने बाटो निधि र सिंहले रोजे । अहिले समीकरण बने पनि सिटौलासँगको शक्तिसन्तुलन मिलाइराख्न देउवाले उनीहरू दुवैका प्रस्ताव स्विकारे । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला तटस्थ बस्दा पनि देउवालाई सहज वातावारण बन्यो ।

पहिलो चरणमा सिंह, निधि र गुरुङले कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा उठाएका थिए । त्यति मात्र होइन निधि र सिंहले त दोस्रो चरणमा धेरै मत ल्याउने इतर समूहका प्रत्यशीलाई समर्थन गर्ने घोषणा समेत गरेका थिए । तर, पूर्ववत् अडानबाट दुवै नेता पछि हटे र देउवासँग सहकार्यको बाटो रोजे । पहिलो चरणका प्रत्याशीका पाँचमध्ये देउवासँग आफूसहित चार उम्मेदवार उभिएपछि शेखर एक्लिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७