मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडियो


२९ मंसिर २०७८, बुधबार
melamchi landslide OTrZqQYKFp

काठमाडौं । बाढी पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँच वटा पुल बगाएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन । उनले अब सहज रूपमा आयोजना स्थलसम्म पुगी क्षतिबारे यकिन गरी काम सुरु गर्न सकिने बताए ।

प्रवक्ता पन्तले मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको अल्पकालीन कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको जानकारी दिए । बाढीपहिरोले बगाएका संरचनाको स्थायी निर्माणका लागि खानेपानी मन्त्रालय र एसियाली विकास बैङ्कले संयुक्त रूपमा अध्ययन गरिरहेका छन् र अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचना निर्माण गरिने छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७