चार महिनामै नेपालको व्यापार घाटा पाँच खर्ब ६८ अर्ब


२९ मंसिर २०७८, बुधबार
Bhansar

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक मसान्तसम्म) मुलुकको बस्तु व्यापार घाटा पाँच खर्ब ६८ अर्ब पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ब्यापार घाटा ५६.८ प्रतिशतले बढेको हो । चार महिनामा देशबाट कुल ८२ अर्ब १२ करोड रुपैयाँको बस्तु निकासी भएको छ भने विदेशबाट ६ खर्ब ५० अर्ब २९ करोडको भित्रिएको छ ।

वस्तु निर्यात गत वर्षको तुलनामा १०४ प्रतिशतले बढी हो भने आयात ६१.६ प्रतिशतले बढी हो । बस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका बस्तुको निर्यात घटेको छ । आयातमा भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका बस्तु बढेको छ । सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका बस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूणर् प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ । मुलुकको व्यापार घाटा बढिरहँदा बाहिरबाट आउने रेमिट्यान्समा पनि कमी आएको छ ।समीक्षा अवधिमा रेमिट्यान्सको आप्रवाह ७.५ प्रतिशतले कमी आएको छ । चार महिनामा कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७