कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण


१ पुष २०७८, बिहीबार
jel 1
सांकेतिक तस्वीर

कञ्चनपुर । जिल्ला कारागार कञ्चनपुरबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो ।

कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ । ‘कैदीबन्दीलाई खान बस्न समेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं’, उनले भनिन्, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।’ कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ ।

स्थानान्तरण गरिएका कैदीबन्दीमा लागुऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका रहेका छन् । सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात काटनु पर्ने अवस्था समेत रहेको छ । कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागि समेत लाईनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन् । कैदी बन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँ समेत नभएको कारागारका जेलर थापाले बताइन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७