विश्वका ७७ देशमा फैलियो ओमिक्रोन


१ पुष २०७८, बिहीबार
corona virus omicron PbnZ9rYrJz

काठमाडौं । कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन ‘अभूतपूर्व’ रूपमा फैलिइरहेकाले सतर्क हुनुपर्ने अवस्था छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ओमिक्रोनको संक्रमण सम्भवतः विश्वका धेरै देशमा पुगिसकेको अनुमान छ । हालसम्म ७७ देशमा भने यसको संक्रमण पुष्टि भइसकेको छ । यसको संक्रमणका कारण बेलायतमा एक जनाको मृत्यु भइसकेको छ । कोभिडका भेरिएन्टमध्ये यो सबैभन्दा बढी उत्परिवर्तित हो ।

डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले ‘ओमिक्रोनलाई कम आँकिएको’ भन्दै चिन्ता व्यक्त गरे । उनले संक्रमणसँग जुध्न र आफ्नो देशको स्वास्थ्य प्रणाली तयारी अवस्थामा राख्न विश्वका देशहरूलाई आग्रह गरेका छन् । बुधबार पत्रकारहरूसँग कुरा गर्दै गेहब्रेयससले ओमिक्रोनको फैलावट दर अप्रत्याशित रूपमा भइरहेको जनाए ।

‘ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास संख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्छन्,’ उनले भने । यो भेरिएन्टसँग जुध्न कतिपय देशले कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउने कामलाई तीव्रता दिएको जनाएका छन् । तर पत्रकार सम्मेलनका क्रममा उनले खोप असमानताका विषयमा पनि असन्तुष्टि व्यक्त गरे ।

गेहब्रेयससले बुस्टर डोजले ‘कोभिड फैलावट रोक्न महत्वपूणर् भूमिका खेल्ने’ भए पनि प्राथमिकता नदिइएको बताए । ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको थियो । गेहब्रेयससले विश्वव्यापी रूपमा संकलित तथ्यांकहरूको समीक्षाले यो भेरिएन्ट युरोपमा केही देशमा सबैभन्दा प्रभावी हुन सक्ने देखिएको जनाए ।

डब्लूएचओले ओमिक्रोनलाई ‘उच्च जोखिम’ को सूचीमा राख्दै थप स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिसकेको छ । हाल प्रयोगमा रहेका खोपहरूले ओमिक्रोनको संक्रमणबाट सुरक्षित राख्ने विषयमा वैज्ञानिकहरूले अध्ययन जारी रहेको बताएका छन् । तर प्रारम्भिक नतिजामा कोभिडविरुद्धका खोपहरूले संक्रमण हुनबाट पूर्ण रूपमा नबचाउने तर संक्रमितहरू अस्पताल जानुपर्ने अवस्थामा कमी ल्याउने जनाइएको छ ।

यसअघि, बेलायती वैज्ञानिकहरूले ओमिक्रोनबाट बच्न खोपको बुस्टर डोज (तेस्रो मात्रा) आवश्यक हुने बताएका थिए । बुस्टर डोज लिएको खण्डमा कोभिडबाट सुरक्षित हुने सम्भावना कम्ती ७० प्रतिशत हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७