संसद्को अन्तिम बैठक सुरु, दलका प्रमुखले विदाई सम्बोधन गर्ने


२८ आश्विन २०७४, शनिबार
samsad hal संसद हल

काठमाडौँ : संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक सुरु भएकाे छ । निर्वाचन आयोगले आइतबार समानुपातिक उम्मेदवार मनोनयन गर्ने दिन तोकेकाले व्यवस्थापिका–संसद् मध्यरातबाट स्वतः विघटन हुनेछ ।
samsad hal संसद हल
संविधानमा प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिनसम्म संसद्को आयु रहने उल्लेख छ । संसद् नहुँदा प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन पाउने छैनन् ।
विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो ।

लाइभ

०७० पछिको संविधानसभा र संविधान जारी भइसकेपछि रूपान्तरित संसद्मामा ५९१ सदस्य छन् । दुईजना निर्वाचनपछि मन्त्रिपरिषद्बाट मनोनीत हुन सकेनन् । मधेसी दलबाट मनोनयनका लागि नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद्ले २४ जना सदस्यलाई मात्र मनोनीत गरे । यस्तै सांसदहरुको निधन भएपछि संसद्को कुल सदस्य संख्या ६०१ नभई ५९९ मात्र कायम भएको थियो ।
के छ कार्यक्रम ?
आजको संसद्को अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।  बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नेछिन् ।
यसकारण स्वतः विघटन
संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख रहेको छ । सो प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनु अगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान उल्लेख भएकोले स्वतः विघटन हुनेछ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७