चोरी आरोपीसँग मिलापत्र गर्न भक्तपुर प्रहरीको दबाब


१ पुष २०७८, बिहीबार
Nepal Police

भक्तपुर : भक्तपुर प्रहरीले चोरी आरोपीसँग मिलापत्र गर्न दबाब दिएको छ । आफ्नो निर्माणाधीन भवनबाट गए राती केही सामान चोरी भएको निवेदन सहित महानगरीय प्रहरी परिसर भक्तपुर पुगेका एक सेवाग्राहीलाई प्रहरीले चोरीमा संलग्न आरोप लागेका व्यक्तिसँग मिलापत्र गर्न दबाब दिएको हो ।

बुधबार राती भक्तपुर नगरपालिका–१ सल्लाघारीका विशाल च्याख्वा घरको ६ लाख बराबरको मेसिनरी औजार भएको हो । बुधबार राती निर्माणाधीन भवनबाट केही फलाम तथा मेसिनरी औजार चोरी भएको थियो । सोही औजार कवाडी केन्द्रमा देखेपछि पिडितले प्रहरीमा उजुरी दिएका थिए । उनले नेपाल इको प्यानलको कर्पोरेट कार्यालय बनाउन उनले सामानहरु राखेका थिए ।

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार प्रमाण भेटेर प्रहरी कहाँ जादा पनि प्रहरीले मिल्न दबाब दिएको हो ।

तर प्रहरीले सामान्य मुल्यको सामान भन्दै प्रहरीले मिल्न दबाब दिएको पिडितको भनाई छ । ‘हाम्रो भवनबाट केही सामान गत राती चोरी भयो, चोरी भएको सामान खोज्न हामी भक्तपुरको सल्लाघारी छेउछाउका कवाडी पसलहरुमा गयौं, त्यहाँ हामीले हाम्रो सामान देख्यौं’, उनले भने, ‘त्यही आधारमा हामीले निवेदन दियौं, प्रहरीले निवेदनको आधारमा कवाडी सञ्चालकलाई नियन्त्रणमा पनि लियो ।’

प्रहरीले कवाडी सञ्चालकलाई नियन्त्रणमा लिए पनि उनलाई कार्बाही गर्नुको सट्टा चोरी भएको सामानको क्षतिपूर्ति दिएर चोरी आरोप लागेकासँग मिलापत्र गराउन खोजेको उनको भनाई छ।

‘तपाईंको ठाउँबाट जम्मा ३०/३५ हजार रुपैयाँको सामान चोरी भएको रहेछ, सोबापत तपाईं क्षतिपूर्ति लिनुस्, कुरा मिलाउनुस्’ पिडितले भने ।

यता महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले भने चोरीको उजुरीको आधारमा निवेदन लिएर एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै अनुसन्धानकै सिलसिलमा पीडितसँग भलाकुसारी गरिएको जानकारी दिए।
उनले चोरीको घटनामा मिलापत्र गराउने सोच प्रहरीको नभएको पनि बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७