प्रदेश-२ मा खोप भण्डारण गृह स्थापना, शुरुमै साढे चार लाख डोज खोप भण्डारण


२ पुष २०७८, शुक्रबार
Haijakhop 20211114123217
?????????????????????????????????????????????????????????

काठमाडौं । प्रदेश-२ मा खोप भण्डारण गृह स्थापना भएको छ । यसअघि प्रदेश-२ मा खोप भण्डारण गृहको अभाव थियो । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको हो । पहिलो चरणमा खोप भण्डारण गर्ने दुई वटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले जानकारी दिए ।

४० हजार लिटर क्षमताका दुईवटा युनिटको निर्माण गरिएको छ । त्यसमा लाखौं डोज खोप भण्डारण गरेर राख्न मिल्ने यादवले बताए । प्रदेश-२ मा खोप भण्डारणको अभाव हुँदा १ को विराटनगर तथा बागमती प्रदेशको हेटौँडाबाट खोप मगाउनुपर्ने समस्या थियो ।

यसअघि खोपको समयमा आपूर्ति नभएका कारणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको थियो । निकट भविष्यमा नै थप दुईवटा युनिट निर्माण गरेपछि खोप भण्डारण गृहको क्षमतामा वृद्धि गर्ने तयारी छ । युनिट थप भएपछि क्षमतामा निकै वृद्धि भएर अन्य प्रदेशमा पनि पठाउन सकिने यादवले बताए ।

खोपका लागि उचित तापक्रम नभएको खण्डमा खोपको प्रभाव कम भएर कतिपय अवस्थामा खोपले काम नगर्ने अवस्था आउने भएकाले खोप भण्डारण गृहको निर्माण निकै महत्वपूणर् मानिन्छ । यादव बालरोग विशेषज्ञसमेत हुन् । अब नियमितरूपमा बालबालिकाका लागि प्रदान गर्ने दादुरा रुवेला, बिसीजी, डिपीटी, पोलियो, एफआइपिभी, विसिभी, रोटाजस्ता खोपसहित एन्टिस्नेक भेनमसहित खोपहरू भण्डारणका लागि समस्या नहुने उनले बताए ।

प्रदेश-२ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले प्रदेशको मध्यभागमा भण्डारगृह भएकाले आपूर्तिमा सहजता हुने विश्वास व्यक्त गरे । अहिले नव निर्मित प्रदेश खोप भण्डारण गृहमा कोरोनाविरुद्धको मोडर्ना खोपका चार लाख ४७ हजार डोज भण्डारण गरेर राखिएको छ । खोप भण्डारण गृह निर्माण भएपछि पालिकाको वडासम्म सञ्चालन हुने नियमित खोप कार्यक्रमलाई ठूलो मद्दत पुग्ने यादवले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७