जाडो छल्न बेंसी झार्दै भेडीगोठ


२ पुष २०७८, शुक्रबार
veda
फाइल फोटो

मनाङ । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेंसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पुर्‍याउने गर्दछन् ।

बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मंसिरमै बेंसीतिर झर्न थालेका हुन् । नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढ सय भेडा लिएर जाडो छल्न बेंसी झरेको बताए । भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक झरेको उनको भनाइ थियो । घलेसँगै भेडापालक किसानलगायतले छ महिना नाम्के, ड्रोना र लमजुङ हिमालको बेसक्याम्पमा बिताएको वीरबहादुर गुरुङले बताए । उनीहरू एक हजार ५०० भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए ।

वर्षौँदेखि पाटनमा भेडा चराउने गर्दै आएका उनीहरूले यस वर्ष चिसो निकै बढेको बताए । चिसो बढेसँगै भेडा मर्न थालेपछि यसपालि छिट्टै भेडालाई बेंसी झारिएको हो । चिसो बढेसँगै भेडाले बेंसीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक अजय गुरुङले बताए । उनले भने, ‘गर्मी बढेपछि बेसीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेंसीतर्फ झर्छन् । उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन्। सोहीअनुसार हामीले पनि गोठ सार्ने गर्नुपर्छ ।’

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेंसीतिर झर्ने गरेको जयको भनाइ थियो । गुरुङले भने, ‘जाडो यामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ । भेडापालक घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउँ पर्न थालेसँगै बेंसी झर्ने र गर्मी बढेसँगै हिमाली भेगतिर जाने गर्दछन् ।’ फागुन अन्तिमसम्म बेँसीमै रहने र गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने गुरुङको भनाइ छ । चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडोबाट बचाउनकै लागि बेँसी झार्न थालिएको समेत उनले बताए ।

वर्षभरि लेकबेंसी गरेर भेडापालन व्यवसायमा लागिरहेकालाई हिँउद याममा भने सास्ती हुने गरेको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेंसी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकले गुनासो गरेको छ ।

पहिलेदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयवासीले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेंसी झार्दा भेडा चराउन समस्या भएको हो । सामुदायिक वनमा भेडा चराए वापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ । अहिले यो पेशाप्रतिको आकर्षण क्रमिकरूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेशा सङ्कटमा परेको नासो-८ का राज घलेको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७