देशलाई समृद्ध बनाउने योजना र आधार मसँग छ : माधव नेपाल


२ पुष २०७८, शुक्रबार
Madhav Nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन् । आज शुक्रवार काठमाडौमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताएका हुन् ।

उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरू आफूसँग रहेको समेत दावी गरे । अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए । उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रमध्ये कृषि अत्यधिक महत्वपूणर् भएकाले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौं । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौं । देशलाई सबै खालका असमानता, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौं । हामी हाम्रो देश नेपाललाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौं ।’

उनले थपे, ‘हामी प्रत्येक नेपालीको अनुहारमा उज्यालोपना देख्न चाहन्छौं । मधुर मुस्कान देख्न चाहन्छौँ । प्रसन्न हृदयी भएको देख्न चाहन्छौँ । हामी प्राकृतिक सम्पदामा धनी देश हौँ । कृषि, पर्यावरण, वनजङ्गलको क्षेत्रमा धनी देश हौँ । फलफूलदेखि लिएर माछामासुसम्म सबै उपभोग्य वस्तु, शरीरको निम्ति अत्यन्तै पोषक तत्त्वहरू, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौँ । हाम्रो नागरिकको आवश्यक्तालाई पूरा गर्न सक्दछौँ । साथै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सक्दछौँ ।’

अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताऐ । उनले सरकारले गुणस्तरलाई हेरेर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए । अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत् र कलकारखाना खोल्न बलियो सम्भावना रहेको तर यसमा अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरणलाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७