देउवाको दोस्रो इनिङ शुरु भयो, सेन्चुरी हान्न नसके पनि अर्धशतक हान्छन् : धनराज गुरुङ

‘राजनीतिक संस्कारमा हुर्केका प्रकाशमानबारे कुनै टिका टिप्पणी आवश्यक छैन’


२ पुष २०७८, शुक्रबार
Dhanraj Gurunh

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ शुरु भएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ शुरु भएको बताएका हुन् ।

उनले सभापति देउवाले दोस्रो इनिङमा सेन्चुरी हान्न नसके पनि अर्धशतक हान्ने दाबी गरे । उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताए । उनले यो अग्निपरीक्षा भएकोले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताए ।

उपसभापति गुरुङले भने, ‘क्रिकेट कहिलेकाहीं म पनि हेर्छु, यहाँहरुले पनि हेर्नुहोला ? क्रिकेट म्याचमा टेस्ट म्याच भन्ने हुन्छ एउटा, त्यसमा एउटै ब्याट्सम्यानले दुईपल्ट ब्याटिङ गर्नुपर्छ । पहिलो इनिङ्स, दोस्रो इनिङ्स । भलै श्रद्धेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ्स राम्रो भएन होला । क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हानिरहेको हुन्छ । हो त्यस्तै गरेर हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन नसकेपनि दोस्रो इनिङ्स सुुरु भयो । यसमा हामी पनि छौँ नि ब्याट्सम्यान । तर हामी आशा गरौँ, हाम्रो प्रिय, श्रद्धेय सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ । त्यो ठाउँमा हामी पुर्‍याउँछौँ । विधि बमोजिम चल्ने पार्टी बनाउँछौँ । विधान बमोजिम चल्ने पार्टी बनाउँछौँ । हामी अग्निपरीक्षामा छौँ । रुपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौँ ।’

नव-निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०-४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताए । उनले भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबण्डारहीत बनाइ पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पारे । उपसभापति गुरुङले न्यायोचित व्यवस्थापन गरेर पार्टीलाई रुपान्तरित र न्यायोचित ढंगले अघि बढाउने बताए । उपसभापति गुरुङले भ्रष्टाचारका कारण जनताले सुशासन पाउन नसकेको दाबी समेत गरे ।

उनले नव निर्वाचत सभापति देउवालाई आफूहरू जस्तै बनाएर अघि बढाउने र रूपान्तरण गर्ने पनि दाबी गरे । उनले नेता प्रकाशमान सिंहको बारेमा टिप्पणी गर्न चाहेनन् । ‘गणेशमानजीको सुपुत्र त प्रकाशमानको त सानैदेखि राजनीतिक संस्कार भएको पाठशाला घरमै बन्यो । त्यस्तो पाठशालामा हुर्केको व्यक्तिको बारेमा मैले धेरै टिकाटिप्पणी गर्न आवश्यक छैन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७