प्रदेश-२ को नेतृत्व चयन गर्न माओवादी केन्द्रको आज लालबन्दीमा बन्द सत्र


३ पुष २०७८, शनिबार

धनुषा । प्रदेश-२ को नेतृत्व चयनका लागि नेकपा माओवादी केन्द्रलेले आज धनुषाको लालबन्दीमा बन्द सत्र आयोजना गर्दैछ । जनकपुरमा मंसिर २५ मा उद्घाटन गरिएको अधिवेशनको बन्दसत्र शनिबारदेखि लालबन्दीमा शुरु हुने माओवादी केन्द्र प्रदेश-२ का इन्चार्ज प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

बन्द सत्रबारे छलफल गर्न शुक्रबार बैठक बसेको थियो । बैठकले बन्दसत्र आयोजना, प्रदेश कमिटी गठन र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गर्ने विषयमा छलफल भएको प्रदेश इन्चार्ज बुढाथोकीले बताए । ‘बन्दसत्रको तयारी गरिएको छ,’ इन्चार्ज बुढाथोकीले भने, ‘पालिकाहरूबाट आएका प्रतिनिधिको नाम इन्ट्री शुक्रबार साँझदेखि शुरु भएको छ ।’

सप्तरीबाट प्रतिनिधि चयन विवाद समाधानका लागि शुक्रबार प्रयास भए पनि सहमति नभएको उनले बताए । माओवादीमा प्रदेश कमिटीको नेतृत्वका लागि कसैले पनि उम्मेदवारी घोषणा गरेको छैन । तर, प्रदेश अध्यक्षका लागि प्रदेश-२ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, रामकुमार शर्मा, प्रह्लाद बुढाथोकी आन्तरिक तयारीमा जुटेका छन् । नेताहरू २ सय ७१ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन गर्न आन्तरिक छलफलमा जुटेका हुन् ।

जिल्लाबाट आएका प्रतिनिधिहरूबाट प्रदेश कमिटीका लागि २७१ जना चयन गरी उनीहरूलाई नै पदाधिकारी छनोट गर्ने जिम्मेवारी दिइने तयारी गरिएको एक नेताले बताए । प्रदेश-२ का १३६ मध्ये २५ पालिकामा अधिवेशन हुन सकेको छैन । सप्तरीका १५ स्थानीय तहमा माओवादीले अधिवेशन गराउन सकेको छैन । पालिका अधिवेशन नभएका ठाउँको विवाद टुंग्याउन शुक्रबार रातिसम्म पनि प्रयास भइरहेको इन्चार्ज बुढाथोकीले बताए । उनले शनिबारसम्म विवादको निकास नआए पनि प्रदेश अधिवेशनको बन्दसत्र आयोजनामा गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७