भारतमा गएका श्रमिक भन्छन्, ‘रित्तै जान्छौं, रित्तै फर्कन्छौं’


३ पुष २०७८, शनिबार

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका-२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा ।

कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताइन् । रात दिन काम गर्दा समेत राम्रो कमाइ हुन नसकेको उनको भनाइ छ । ‘दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइदोरहेछ’, उनले भनिन् । सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदोरहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए । नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरीज्वाइले दुःख सुखमा साथ दिएका छन् उनलाई ।

भारतमा काम गरेर फर्के पनि न त उनको जिन्दगी फेरियो न त राम्रो कमाइ गरी पैसा नै बचत हुन सक्यो । आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिन्छन् उनी । सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताए । उनी आउँदा रित्तै भाइबुहारीको घरमा फर्किए । न कमाइ भयो, न उमेर रह्यो । भारतीय भूमिमा उर्जाशील समय बितेपनि केही रकम जोहो गर्न नसकेको उनको गुनासो थियो ।

उनीहरु जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा हो यो । गाउँका ठेकेदारले कमाइ राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाइ राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । बारेकोट गाउँपालिका-२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गए । कालापारमा कमाइ गर्न गएका उनी परिवार पाल्न समस्या भएपछि नेपाल फर्किए । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् ।

उनले भने, ‘भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।’ ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उनको अनुभव छ । उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उनको बुझाइ छ ।

अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए । अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताउँछन् । आफूसँगका साथीहरु, पढाइलेखाइ गरेर जागीरे जिन्दगी बिताउँछन् आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरुको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७