काठमाडौंको तापक्रम यस वर्षकै कम, अझै घट्न सक्ने


३ पुष २०७८, शनिबार
kathamandu upatiyaka scaled

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

यसअघि शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम दिनानु दिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।

अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव तीन डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७