आज सर्वदलीय बैठक बस्दै, त्यसअघि गठबन्धनबीच छलफल


४ पुष २०७८, आईतवार
sarbadaliya baithak saun 13 KCvNV4TfwL

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्ने भएको छ । संसद् बैठकमा एमालेले निरन्तर जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको हो ।

बैठकमा आउन प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएको भए पनि एमालेले भने शनिबारै आफू सहभागी नहुने बताइसकेको छ । एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधि सभाका हरेक बैठकमा अवरोध र विरोध गरिरहेको छ । ‘संसद् लामो समयदेखि अवरुद्ध भइरहेकाले पहिलो एजेण्डा त्यही खुलाउने नै छ’, देउवा निकट स्रोतले भयो । स्रोतका अनुसार एमालेको अवरोधकै कारण केही महत्वपूणर् विधेयक र अध्यादेश संसदमा पेस हुन पाएको छैन । यसैगरी एमसीसीको विषय पनि संसदमा टेबल हुन पाएको छैन ।

‘आइतबारको मुख्य कुरा भनेकै अवरुद्ध संसद् खुलाउने हो, त्यो खुले एमसीसीलगायतका विषयमा छलफल गर्न सकिन्छ’, स्रोतले भन्यो । यसैबीच सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनमा रहेका पाँच दलबीच छलफल हुने भएको छ । गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सम्भवतः दिउँसो १ बजेतिर बस्ने स्रोतले जानकारी दिएको छ ।

‘सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्छ’, स्रोतले भन्यो, ‘त्यसपछि सर्वदलीय बैठक बस्नेछ ।’ एमसीसी पनि संसदमा पेस गर्ने योजनामा रहेको सरकार संसद् बैठक सञ्चालन नहुँदा अप्ठेरोमा परेको छ । यसैले अवरोध खुलाउने विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सर्वदलीय बैठक बोलाउनेबारे छलफल गरेका थिए । त्यही सल्लाहबमोजिम आज सर्वदलीय बैठक राख्न लागिएको हो । आइतबार दिउँसो बस्ने सत्तारूढ गठबन्धनको बैठकमा साझा धारणा बनाएर सर्वदलीय बैठकमा पेस गर्ने एजेन्डा तयार गर्ने योजना छ । संसद् बैठक यही पुस ६ गते बस्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७