अर्बपतिहरूले कसरी हामीले भन्दा थोरै कर तिरिरहेका हुन्छन् ?


४ पुष २०७८, आईतवार
why the ultra rich are paying less tax than us1639845085

काठमाडौं । एलन मस्क, जेफ बेजोस र वारेन बफेट दुनियाँकै सबैभन्दा धनी व्यक्तिहरू हुन् । यसकारण स्वाभाविक रुपमा उनीहरूले सरकारलाई तिर्ने कर पनि उत्तिकै धेरै हुन्छ भन्ने सबैको सामान्य बुझाइ होला । तर वारेन बफेटले एकपटक आफूले सेक्रेटरीले तिर्ने जत्तिकै प्रतिशतमा मात्र कर तिरिरहेको आश्चर्यजनक खुलासा गरेका थिए ।

यस्तो कसरी ?
यति मात्र नभएर प्रोपब्लिकाले लिक भएका कर सम्बन्धी डाटा अध्ययन गर्दा जेफ बेजोसले २००७ देखि २०११ का बीच कुनै आय कर नै नतिरेको पत्ता लाग्यो । उनले वास्तवमै शून्य कर तिरेको तथ्यांक रहेको छ । यसैगरी एलन मस्कले पनि २०१८ मा कुनै आयकर तिरेनन् । यस्तो कसरी हुन्छ ?
किन संसारकै धनी भएर पनि उनीहरूले त्यस अनुसार कर तिर्नु पर्दैन या एकदमै थोरै तिर्नुपर्छ ? र नेताहरूले यसबारे किन केही गर्न सक्दैनन् ? यस सम्बन्धी कर नीति केन्द्रका स्टिभ रोजेनथल भन्छन्, ‘वास्तवमा धनीहरूको रणनीति हामी भन्दा धेरै फरक हुन्छ । उनीहरूले भौगोलिक सम्पत्ति र पुँजी ‘होल्ड’ गरेर पैसा कमाइहेका हुन्छन् । र प्रायः पुँजीलाई एकदम हलुका कर लगाइन्छ ।’

एलन मस्क र जेफ बेजोस जस्ता व्यक्तिहरू यत्तिकै धेरै तलब खाएर विश्वका सर्वाधिक धनी बनेका होइनन् । उनीहरूले आफ्नो अरबौं डलर बराबरको कम्पनीबाट शेयरका रुपमा क्षतिपूर्ति लिने गर्दछन् । र, शेयरको कारोबार हामी जस्ता साधारण व्यक्तिले पाउने तलब भन्दा धेरै फरक हुन्छ । यसमा तपाईँले शेयर बेच्दा मात्र पुँजी लाभ प्राप्त गरेको कर तिर्नुपर्ने हुन्छ । र अहिलेसम्म अमेरिकामा प्राप्त सबैभन्दा उच्च पुँजी कर भनेकै केबल २० प्रतिशत रहेको छ ।

अर्कोतर्फ पारिश्रमिक, तलब, बोनस लगायतमा चाहिँ ३७ प्रतिशत भन्दा बढी कर लगाइन्छ । र यो त धनी वर्गहरूका लागि लाभको सुरुवात मात्र हो । यसरी अधिकांश अर्बपतिहरूले कर सम्बन्धी एउटा मन्त्र अपनाउछन्, ‘बाई, बरो, डाई’ अर्थात् किन्ने, सापटी या ऋण लिने अनि मर्ने । यो भनेको आफूले शेयर बेच्दा मात्र पुँजीबाट प्राप्त लाभको कर तिर्नुपर्ने हुँदा उनीहरू आफ्नो शेयर कहिल्यै बेच्दैनन् ।

त्यसैले ‘बाई बरो डाई’ रणनीतिमा मुख्य कुरा भनेको सकेसम्म धेरै क्यास वा तरलतायुक्त कारोबार नगरि सम्पत्तिको उपभोग गर्न खोज्नु हो । जस्तै प्रायः सबै रकम फेरि व्यवसायमै पुनः लगानी गर्ने ।

उसो भए यहाँ अर्को प्रश्न आउँछ : कुनै तलब नपाइ र आफ्ना शेयरहरू पनि नबेची कहाँको पैसाले उनीहरू निजी टापु, महङ्गा लक्जरी याच, घर खरिद गरिरहेका छन् त ? हो यहाँ आउँछ सापटीको कुरा । उनीहरूले आफ्नो शेयरलाई धितोमा राखेर पैसा ऋण लिने गर्दछन् । यो पनि क्यास बिनाको कारोबारमै गन्ती हुन्छ ।

उदाहरणका लागि एलन मस्कले एउटा कुनै बैंकबाट ऋण लिन सक्छन् र सो रकमले आफूले चाहेको लक्जरीपूणर् कुरा खरिद गर्न सक्छन् । प्रायः सरकारी प्रणालीमा ऋण लिँदाको प्रक्रिया भनेको कर लगाउन सकिने किसिमको हुँदैन । त्यसैले उनले कुनै कर नतिरि क्यास खर्च नगरी सम्पत्ति जोडिइरहेका हुन्छन् ।

र, उनीहरूका लागि वास्तवमै परिस्थिति त्यो भन्दा राम्रो बन्न पुग्छ किनकी बैंकबाट ऋण लिँदा कतिपय अवस्थामा उनीहरू करछुटका लागि समेत योग्य बन्ने गर्दछन् । यसरी यो रणनीतिको अन्तिम भाग मर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । जस्तै उनीहरूको मृत्यु हुने हो भने सबै सम्पत्ति उत्तराधिकारीकहाँ पुग्नेछ जसले पनि आफूले प्राप्त गर्ने सम्पत्तिका लागि कर तिर्दैनन् । अमेरिकामा यसलाई ‘स्टेप-अप इन बेसिस’ भनिन्छ ।

यसरी दुनियाँभरि नै कर तिर्नबाट बच्नका लागि धनीहरूले यही रणनीतिको प्रयोग गरिरहेका हुन्छन् । र आश्चर्यजनक यो सबै वैध प्रक्रिया हो । यसअघि राष्ट्रपति जो बाइडेनले यो मृत्युपछिको अन्तिम पाटोलाई बदल्ने कोशिश गरेका थिए । तर उनको प्रस्तावले संसदमा मान्यता पाउन सकेन । त्यस्तै व्यक्तिको कूल सम्पतिको वार्षिक विवरण अनुरुप कर लगाउने प्रस्ताव पनि पारिद हुन सकेन । यसकारण नै महामारीमा अरबौं कमाएका प्राविधिक कम्पनीका मालिकहरूले हामी भन्दा कम दरमा कर तिरिरहेको हुन सक्छन् । र यसमा छिटै बदलाव आउने सम्भावना कमै छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७