देशभर बढ्यो जाडो : काठमाडौंको तापक्रम ३.४ डिग्री सेल्सियस, अझै घट्ने


४ पुष २०७८, आईतवार
Sheetlarbirganj Jado

काठमाडौं । अहिले देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराईका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

उनका अनुसार आज काठमाडौंमा मौसम बदली हुनेछ । तापक्रम अझै घट्दै जाने उनले बताइन् । ‘तापक्रम अझै घट्दै जानेछ’, मौसमविद् शाक्यले जानकारी दिइन् । शनिबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षको आजसम्मकै न्यून २.६ डिग्री सेल्सियस रहेको थियो ।

तराईका विभिन्न जिल्लामा आज पनि शितलहर चलेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म हुस्सु र कुहिरो हट्ने उनले जानकारी दिइन् । केही क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र वागमती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७