कैलालीमा रुखमा बाँधेर नग्न बनाइ घाँटी छिनाएर युवकको हत्या, हत्यारा ‘भागे’ भारत


४ पुष २०७८, आईतवार
hatya

कैलाली । चक्कु प्रहारबाट ज्यान गुमाएका कैलाली लम्कीका भूपेन्द्र बडुवालको हत्याकाण्ड सेलाउन नपाउँदै कैलालीको सुदूरपूर्वी क्षेत्रमा फेरि अर्का एक २५ वर्षीय युवकको विभत्स हत्या भएको छ ।

कार्तिक २३ गते लम्कीका युवक बडुवालको टीकापुरमा खुकुरी प्रहारबाट हत्या भएको घटना सुल्झिन नपाउँदै जानकी गाउँपालिका- ९ अमरावतीका २५ वर्षीय अरुण दासको हत्या भएको हो । दासको अमरावती सामुदायिक वनमा रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार साँझ शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार सामुदायिक वनमा घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।

‘परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी शुक्रबार साँझ साथीसँग जान्छु भनेर निस्केका थिए, प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘विभत्स अवस्थामा उनी मृत फेला परेका हुन् ।’ जिल्ला प्रहरी कार्यालय कैलालीले घटनासँग सम्बन्धित अडियो रेकर्ड फेला पारेको जनाएको छ । ‘घटनास्थलबाट एउटा अडियो फेला परेको छ, यसका बारेमा समेत अनुसन्धान भइरहेको छ, अहिलेसम्म कुनै व्यक्ति पक्राउ परेका छैनन्’, जोशीले भने, ‘अहिले शव उठाउने तयारी भइरहेको छ ।’

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली घटनास्थलमा छ । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा रुखमा हात बाँधेर टाउको अलग पारिएको र नग्न अवस्थामा दासको शव फेला परेको थियो । उनको टाउको छिनालिएको नग्न शव रुखमा बाँधिएको थियो। माथिल्लो शरीरको कपडा खोलेर त्यसैले शव रुखमा बाँधिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । ‘रुखमा बाँधिएर नग्न बनाइएको छ। दुईवटै हात पछाडि बाँधिएको छ,’ डिएसपी बेद जोशीले भने, ‘सुरुमा हत्या गरेर रुखमा शव बाँधिएको जस्तो देखिन्छ ।’

घटनाको विभिन्न कोणबाट अनुसन्धान थालिएको उनको भनाइ छ। प्रहरीले हत्याबारे दुई युवकबीच कुराकानी भएको फोन रेकर्ड पनि भेटाएको छ । मृतक अरुणको साथी भएको बताउँदै एकजना युवाले आफू लगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्डसहित अन्य शंकास्पद कुराहरुमा अनुसन्धान केन्द्रित भएको प्रहरीले जनाएको छ । सो अडियोमा ‘बक्स’को कुरा गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार बक्स भनेको लागुऔषध हुन सक्छ । सो समूह र मृतकको कनेक्सन लागुऔषधसँग भएको हुन सक्ने र मृतकले लागुऔषध लुकाएको आरोपमा हत्या गरेको हुनसक्ने प्रहरी दाबी छ ।

‘प्राप्त फोन कल रेकर्डमा बोल्नेहरुको पहिचान तथा अन्य शंकास्पद मानिसमाथि निगरानी गरिरहेका छौँ,’ डिएसपी जोशीले भने, ‘मृतकको पृष्ठभूमि, तथा उनीसँग सम्बन्धित जानकारी पनि संकलन भइरहेका छन् ।’ फोन कल रेकर्डमा एकजना युवाले टाउको र शरिर अलग हुने गरी हत्या गरेपछि आफूहरु भागेर भारत गइरहेको बताएका छन् । ‘हामी बैंगलोर जादै छौं। अहिले रुपैडिहा पुगेका छौं,’ ती युवाले भनेका छन्, ‘एक-दुई दिनमा त्यो शव फेला पर्नेछ ।’

प्रहरीले यो फोन कल रेकर्डमा बोल्नेको पहिचान गरिरहेको छ। प्रहरीले शनिवार तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टिम सक्रिय छ । मृतक अरुणका दासका बुवाआमा रोजगारीका लागि भारतमा छन् । जानकी गाउँपालिका-९ मा मृतककी श्रीमती र भाउजू बस्दै आएका छन् । मृतक अरुण पनि भारतबाट आउने जाने गर्दै आएका थिए । तीन हप्ता अगाडि मात्रै उनी भारतबाट फर्किएका थिए ।

एकपछि अर्को विभत्स हत्याका घटना हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । टीकापुरका भूपेन्द्र खड्काले भने, ‘सुरक्षाको प्रत्याभूति नै भएन, को कहाँ कसरी मारिने हो भन्ने डर छ ।’ दुई महिनाअघि एक युवकको चक्कु प्रहारबाट टीकापुर नगरपालिका-८ का एक युवकको समेत ज्यान गएको थियो । प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७