आफैले पढेको विद्यालयबाट स्वास्थ्य मन्त्रीले शुरु गरे मोर्डना खोप अभियान

सात प्रदेशका ५७ जिल्लाका बालबालिकालाई खोप दिन थालियो


४ पुष २०७८, आईतवार
korona khop

मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालयमै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप अभियान शुरु गरेका छन् । सरकारले आजबाट सात वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिन सुरु गरेको हो ।

सोही क्रममा गृह जिल्ला मकवानपुरको हेटौंडा उपमहानगर पालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोपकेन्द्रबाट मन्त्री खतिवडा आफै सहभागी भएर विद्यार्थीई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । मन्त्री खतिवडा अध्ययन गरेको विद्यालय हो यो ।

अभियानको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनु नपर्ने भन्दै सबैलाई सक्रिय भएर खोप लगाउन आग्रह गरेका छन् । हरेक जिल्लमा स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेका छन् । कार्यक्रममा मन्त्री खतिवडाले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने बताए । ३ वटा प्रदेशका ८ वटा जिल्लामा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाइने भएको छ ।

ती ८ जिल्लामा वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला तथा सुदूरपश्चिमको डडेल्धुरा र कणर्ाली प्रदेशको सुर्खेत रहेको छ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्लास्तरीय प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई तीनवटा विद्यालयको मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय भएको हो । जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयका अभियान शुरु भएको हो । पहाडि र दुर्गम जिल्लामा सय विद्याथी भएपछि खोप केन्द्र मानिएको छ भने तराई र शहरी ठाउँमा दुई सय विद्यार्थीलाई एक खोप केन्द्र मानिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७