विश्वप्रकाशलाई सिटौलाकाे आशिर्वाद : महामन्त्री निर्वाचित भयौं, अझै माथि पुग्नू


४ पुष २०७८, आईतवार
bishwaprakash krishna sapkota 15NvMIYmQ4

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाश शर्मा आज बिहान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका छन् । भेटमा सिटौलाले आफूलाई राजनीतिक उचाइका लागि आशिर्वाद दिएको शर्माले बताए । ‘फोनमा उहाँसँग कुराकानी त भइरहेको थियो । आज चाहिँ भेट्नै गएको थिएँ,’ शर्माले भने, ‘उहाँले टीका लगाइ दिनु भयो । टाउकोमा हात राखेर आशिर्वाद दिनु भयो । महामन्त्री निर्वाचित भयौ । अब यो भन्दा माथिल्लो तहमा पुग्नु तिम्लाई शुभकामना भन्नु भयो ।’

शनिबार चण्डोल पुगेका शर्मालाई सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका छन् । ‘हिजो जे-जे भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नु भन्नुभयो,’ नव निर्वाचित शर्मा निकट एक नेताले भने, ‘महामन्त्री मात्रै होइन, त्योभन्दा माथिको जिम्मेवारीमा पुग्नु । देशकै नेतृत्व गर्ने ढंगले अघि बढ्नु मेरो शुभकामना छ ।’

चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले भेट गरेको तस्बिर आइतबार मात्रै सार्वजनिक भएको छ । महामन्त्री शर्माले आफू र नेता सिटौलाबीच शनिबार भेट भएको पुष्टि गरेका छन् । उनले शनिबार सिटौलासँगै प्रधानमन्त्री एवम् नव निर्वाचित सभापति शेरबहादुर देउवा, नव निर्वाचित उपसभापति पूणर्बहादुर खड्का र नेता रामचन्द्र पौडेलसँग पनि भेट गरेको जानकारी दिए ।

महामन्त्री शर्माले आफूले महामन्त्रीमा निर्वाचित भएपछि आशीर्वाद लिन अग्रज नेताहरुसँग भेटघाट गरेको पनि बताए । उनले महामन्त्रीमा निर्वाचित भएकै दिन नेता प्रकाशमान सिंहसँग चाक्सीबारीमा भेट गरेका थिए । यसअघि चौधौं महाधिवेशनमा सिटौलाले शर्मालाई असहयोग गरेको कुरा आएको थियो ।

सिटौलाले सभापति शेरबहादुर देउवासँग तालमेल गरेर प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेपछि शर्माले प्रकाशमान सिंहसँग मिलेर उम्मेदवारी दिएका थिए । सिटौला र शर्मा दुवै झापाका हुन् । जिल्ला तहको कांग्रेसको अधिवेशनमा पनि यी दुवैले छुट्टाछुट्टै प्यानल खडा गरेका थिए । झापा कांग्रेसको नेतृत्वमा अधिकांश सिटौला समूहका नेता निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७