कांग्रेसमा नयाँ अनुहार उल्लेख्य


५ पुष २०७८, सोमबार
thumb 10

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य संख्यामा हुने भएको छ । खुलातर्फ आइतबार निर्वाचित ३५ केन्द्रीय सदस्यमा १५ जना नयाँ छन् । अघिल्लो महाधिवेशनमा खुलातर्फ निर्वाचित २५ केन्द्रीय सदस्यमध्ये विश्वप्रकाश शर्मा र रमेश लेखक मात्र नयाँ थिए । यस पटक मतगणना बाँकी रहेका विभिन्न ‘क्लस्टर’ का ८६ केन्द्रीय सदस्यमा पनि नयाँ अनुहार प्रतिस्पर्धामा छन् ।

१३ पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूणर्बहादुर खड्काबाहेक सबै नयाँ हुन् । सभापतिले मनोनयन गर्ने ३३ केन्द्रीय सदस्यमा भने पुरानै नेताको बाहुल्य हुने अनुमान छ । महाधिवेशनमा पदाधिकारीपछि सबैभन्दा रोचक र कडा प्रतिस्पर्धा खुलातर्फको केन्द्रीय सदस्यमा थियो । ३५ सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । बीपी कोइराला-पुत्र शशांकले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याए । उनी चारवटै प्यानलको सूचीमा परेका थिए ।

गत महाधिवेशनमा कोइराला परिवारकै शेखरले सबैभन्दा बढी मत ल्याएका थिए । उनी यस पटक देउवासँग सभापतिमा पराजित भए । उदयशमशेर राणा र रामहरि खतिवडा क्रमशः चौथो र पाँचौं बढी मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर क्रमशः ११ औं र १५ औं नम्बरमा निर्वाचित भएका छन् ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले २० औं नम्बरमा निर्वाचित हुँदै पहिलो पटक केन्द्रीय समितिमा आएका छन् । २४ देखि ३५ नम्बरसम्ममा परेका राजीव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य र कृष्णकिशोर घिमिरे नयाँ हुन् । ३० औं नम्बरका गणेश लामा र ३४ औं नम्बरका गोपाल दहित विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग एकता भएपछि केन्द्रीय सदस्य बनेका थिए । निर्वाचनबाट भने दुवै पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् ।

पहिलो पटक केन्द्रीय सदस्य बनेकामध्ये ढुंगाना नेविसंघका अध्यक्ष र शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव छन् । शिवाकोटी तत्कालीन सभामुख कृष्णबहादुर महराको ‘बलात्कार प्रयास’ र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसनसम्बन्धी समाचार सार्वजनिक गरेर चर्चामा आएका थिए ।

पोखरेल २०७२ को भूकम्पपछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । पूर्वमन्त्री गौतमले २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई पराजित गरेका थिए ।

१३ औं महाधिवेशनमा झिनो मतले पराजित भएका राणा र खतिवडाले यस पटक थुप्रै वरिष्ठ नेता र बहालवाला मन्त्रीलाई पछि पारे । उनीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्रीहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शंकर भण्डारी, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, दीपक गिरी र सुनीलबहादुर थापाको भन्दा बढी मत पाए ।

खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित जिपछिरिङ लामा, गणेश लामा र मोहन आचार्य निर्माण व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । लामाको विगत ‘गुन्डा नाइके’ का रूपमा विवादास्पद छ ।

२५ जना देउवा पक्षीय

खुलातर्फ निर्वाचितमध्ये देउवा प्यानलका २५ र कोइराला प्यानलका ९ जना छन् । शशांक कोइरालालाई भने देउवा, शेखरका साथै प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि आफ्नो प्यानलमा राखेका थिए । केन्द्रीय सदस्यमा निर्वाचितमध्ये एनपी साउद, बालकृष्ण साउद, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा देउवा पक्षका हुन् ।

नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे पनि देउवा प्यानलबाटै प्रतिस्पर्धामा उत्रिएका थिए । कोइराला पक्षबाट अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र दिनेश कोइराला केन्द्रीय सदस्य बनेका छन् ।

सिंह र निधि प्यानलका कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् । आइतबारसम्म १३ पदाधिकारी र ३९ सदस्यको परिणाम आएको छ । त्यसमा देउवा प्यानलका सभापतिसहित ३७, कोइराला प्यानलका १३, सिंह प्यानलका १ र साझा १ (शशांक) जना छन् ।

कांग्रेसको विधानअनुसार सभापतिले निर्वाचनपछि ३३ जना (२० प्रतिशत) केन्द्रीय सदस्य मनोनयन गर्दै १ सय ६७ सदस्यीय कार्यसमितिलाई पूणर्ता दिनेछन् । सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुने वैधानिक प्रावधान छ ।
यसबाहेक देउवाले सभापति तथा पदाधिकारीमा पराजित र निर्वाचन प्रक्रियामा सामेल नभएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न सक्नेछन् । जसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छादार, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, प्रकाशशरण महत, प्रदीप पौडेल, कल्याण गुरुङ, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, मीन विश्वकर्मा, जीवनबहादुर शाहीलगायत नेता पर्ने सम्भावना छ ।

विधानको धारा २१ मा सभापतिले कार्यसमितिमा एकतिहाइ महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनयन गर्ने उल्लेख छ ।

जो पराजित भए

निवर्तमान केन्द्रीय समितिमा रहेका र विगतमा केन्द्रीय सदस्य, सांसद तथा मन्त्री भएका केही चर्चित नेताले पराजय भोगेका छन् । विद्यार्थी राजनीतिबाट आएका अधिकांश उम्मेदवारले चुनाव जित्दा नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य र पूर्वउपाध्यक्ष क्षितिज भण्डारी पराजित भए ।

१ हजार ६ सय ५४ मत ल्याएका आचार्य ३६ औं नम्बरमा परे । ३५ नम्बरमा परेर केन्द्रीय सदस्य बनेका कृष्णकिशोर घिमिरेको १ हजार ७ सय ७ मत छ । पूर्वमन्त्री यज्ञबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, पूर्वराजदूत सुरेशराज चालिसे, पूर्वसांसदहरू तारिणीदत्त चटौत, मोहनप्रसाद बराल, लोकेश ढकाल र शारदा पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेत प्यानलमा परेर पनि निर्वाचित हुन सकेनन् ।

निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका मंगलप्रसाद थारू, टीएन योगी, सुधीरकुमार शिवाकोटी र हरिप्रसाद नेपाल चुनिन सकेनन् । लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल पनि पराजित भए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७