यी आठ जिल्लाका बालबालिकालाई १३ गतेदेखि फाइजर खोप

बालबालिकालाई मोर्डना खोप पनि ढुक्कसँग लगाउन आग्रह


५ पुष २०७८, सोमबार
khop balbalika

काठमाडौं । सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो ।

मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने पछि मिति तोकिनेछ ।

corona virus vaccine tiUSG3JeSL

आठ जिल्लामा पहिलो मात्रा लगाएकालाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन भएको थियो ।

यसैबीच हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएका जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई ढुक्कसँग खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्कसँग लगाउन विज्ञहरुले पनि आग्रह गर्दै आएका छन् । सरकारले बालबालिकालाई सजिलोको लागि विद्यालयबाटै खोप दिन थालेको छ । खोपको लागि आफ्नो विद्यालय या वडामा सम्पर्क गर्न पनि सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७