म्याग्दीमा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता


५ पुष २०७८, सोमबार
pahiro 20211220055500

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा सोमबार पहिरोले चालकसहित डोजर (स्काभेटर) पुरिएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रघुगंगा गाउँपालिका-२ का अन्दाजी २७ वर्षीय भिमबहादुर खत्री स्काभेटरसहित पहिरोमा पुरिएका प्रहरी निरीक्षक बीरेन्द्रराज गुरुङले जानकारी दिए । ‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ,’ उनले भने, ‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो ।’ प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकमका अन्दाजी ७७ वर्षीय गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएको थापाको शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार बिहान ताकम पुगेको छ । सडक छेउमा हिँडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।

प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिँडिरहेका थापा गाडी अगाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुनसक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सीसीटीभी फुटेज, शव परिक्षण प्रतिवेदन र प्रत्यक्षदर्शीको भनाइको आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७