फोक्सिङ्टारमा सात वर्षदेखि अस्थायी बेलिब्रिज


५ पुष २०७८, सोमबार
beli brize1639978878

खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रु पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ । जिल्लालाई पूर्वी सहरसँग जोड्ने दिक्तेल-गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ ।

पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट-दिक्तेल सडक आयोजनाको रु ७८ लाखमा रेग्मी-भानुमती-चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्न गरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो ।

एकसय किमी लामो गाईघाट-दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ । फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी-कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् ।

फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक रु ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट-दिक्तेल सडक कार्यालयका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले जानकारी दिए । ‘फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्दा अहिलेसम्म रु पाँच करोडभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘निर्माणाधीन पक्की पुलको काम यस वर्ष पनि सम्पन्न हुने अवस्था छैन । अर्को वर्ष पनि पुनःअस्थायी बेलीब्रिज जडान गर्नुपर्ने अवस्था छ ।’

गाईघाट-दिक्तेल सडक कालोपत्रको काम भइरहेको छ । सडक निर्माण भएको २७ वर्षसम्म धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षायाममा सञ्चालन हुने सकेको छैन । फोक्सिङ्टारमा निर्माणाधीन आर्क डिजाइनको पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र वर्षायाम सुरू भएपछि झिक्ने अस्थायी बेलिब्रिजले हिउँदमा मात्र दिक्तेल-गाईघाट सिधा यतातयात सञ्चालन हुन्छ । फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरेपछि तराईका जिल्ला जोड्ने छोटो मार्ग दिक्तेल-गाईघाट सडक करिब छ महिनामात्र सञ्चालन हुन्छ ।

जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री सोही दिक्तेल-गाईघाट सडक भएर भित्र्याउने गरिन्छ । सिधा यातायात बिच्छेद भएपछि घुर्मी-कटारी हुँदै जिल्ला भित्र्याइने सामग्री महङ्गो हुने गरेको छ ।

गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रु ३ देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रु साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिए । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा सात वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो ।

फोक्सिङटारमा नौँ वर्षअघि मोटरेबल पुलको ठेक्का लागेर निर्माण सुरु गरिएपनि ठेकेदारको चरम लापारबाहीले हालसम्म सम्पन्न भएको छैन । सडक विभागको रु १९ करोड ६० लाख नौ हजार ९४१ लगानीमा पार्वती-वाईपी जेभीले फोक्सिङ्टारमा १२० मिटर लामो मोटरेबल पुल निर्माणको काम सुरु गरिएको थियो ।

नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती-वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी अलपत्र पारेको स्थानीय बासिन्दाले बताएका छन् । विसं २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माणको सम्पूणर् काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तोकिएको समयमा पुल निर्माणको काम नसकिएपछि पटक पटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको ठेकेदार कम्पनीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेपनि काम सम्पन्न गरेको छैन ।

चार वर्षमा सक्नुपर्ने पक्की पुलको काम नौ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको पाइएको छ । जमिनको अप्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि रामकुमार थापाले दाबी गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७