सिरहामा छुरा प्रहार प्रकरण : विरोध प्रदर्शनले गोलबजार तनावग्रस्त, पूर्व-पश्चिम राजमार्ग बन्द


५ पुष २०७८, सोमबार
siraha golbazar vOhfB0MZqf

सिरहा । एक युवकमाथि छुरा प्रहार गरी गरिएको हत्याको विरोधका कारण आज (सोमबार) पनि सिरहाको गोलबजार तनावग्रस्त बनेको छ । गोलबजार नगरपालिका-६ का २६ वर्षका रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग नै बन्द गराएका गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिए ।

हिजो आइतवार छुरा प्रहार गरी हत्या गर्ने अभियुक्तहरुलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले पूरा नगरेको भन्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेका हुन् । सडक खुलाउन प्रहरीले माइकिङ गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गामुडा गरेका छन् । त्यसपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । प्रदर्शनकारी र प्रहरी दुवैतर्फका केही व्यक्ति घाइते भएका मेयर साहले बताए ।

हिजो छुरा प्रहारबाट गोलबजार नगरपालिका-६ का २६ वर्षीय रामकुमार सदायको ज्यान गएको थियो । छुरा प्रहारबाटै उनका साथी निकेश सदाय गम्भीर घाइते भएका छन् । मृतकको शव भने परिवारले बुझेका छैनन् ।

छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने प्रदर्शनकारीको माग छ । उनीहरूले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचहेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७