अन्तरजातीय बिहे गरेका हुम्लाका दलित युवक केटी पक्षबाट अपहरित


६ पुष २०७८, मंगलवार
chandra

हुम्ला । कथित उपल्लो जातकी युवती विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका- १ जैरगाउँका युवक चन्द्र कामीलाई केटी पक्षले अपहरण गरी एक सातादेखि गायब पारेको छ । गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले समेत पत्तो पाउन सकेको छैन ।

चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका- ४ लिप्रु गाउँकी सुन्तली मल्लसँग भागीविवाह गरेका थिए । स्थानीयहरूका अनुसार सुरुदेखि नै सुन्तलीको माइती पक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड- २ को रिप गाउँमा बस्दै आएका थिए । तर, पछि घरमै आएर बस्न थालेको थाहा पाएपछि बुधबार राति केटी पक्ष आक्रमणको योजनासहित पुगेको थियो ।

सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तोडफोड गरेको र छोरालाई निर्घात कुटपिट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताए । ‘रातिमा २० जनाजतिको समूह आएको थियो । जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमा आक्रमण गरे । ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे । हामीलाई नबोल्न धम्की दिँदै छोरालाई निर्घात कुटे । छोरा-बुहारीलाई नै घरबाट लिएर गए । कुट्दै घरबाट लगेको छोरा कहाँ, कुन अवस्थामा छ अत्तोपत्तो छैन,’ धनञ्जयले गुनासो गरे । घटनाको भोलिपल्टै बिहीबार (१ पुस)मा प्रहरीमा जानकारी गराएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएकी छिन् । चन्द्रको अवस्था भने अज्ञात रहेको उनले बताए । ‘युवती गाउँमै भेटिएकी छिन्, तर युवकको अझै पत्तो लागेको छैन,’ शर्माले भने, ‘खोजी तीव्र पारिएको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७