संयोजक मिलन पाण्डे विवेकशील-साझाबाट निष्काशित


६ पुष २०७८, मंगलवार
milan pandey bibeksheel nepali dal 1 kGq10DIMUa

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार एक पत्र पठाउँदै पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका हुन् । अध्यक्ष मिश्रले यसअघि मंसिर २८ गतेको केन्द्रीय सम्पादन समितिको बैठकको निणर्यानुसार सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाएका छन् ।

‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निणर्यहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निणर्य अनुसार तपाईँसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण गरिएको विदितै छ’, पत्रमा भनिएको छ ।

मिश्रले पाण्डेमाथि पार्टीका निणर्य र नेतृत्वप्रति अनर्गल र भ्रमपूणर् टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको पनि बताएका छन् । पाण्डेले समानान्तर समिति नै घोषणा गरेकाले साधारण सदस्यबाटै हटाएको जनाएका छन् ।

‘अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निणर्य गरेको छ’, पत्रमा भनिएको छ ।

मिश्रले पार्टीको नाम, लेटर हेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री प्रयोग नगर्न पनि भनेका छन् । उनले यदि त्यसो गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने पनि भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७