एमालेले भन्यो-यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनौं

‘१४ सांसद निष्काशित गरेको सूचना टास्नुस्, नभए सभामुखले राजीनामा दिनुस्’


६ पुष २०७८, मंगलवार
bishal bhattarai11632992849

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए । एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए ।

उनले भने, ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । सरकारमा जान कुनै रुची छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् । यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौं । स्पष्ट गर्न चाहन्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं ।’

‘१४ सांसद निष्काशित गरेको सूचना टास्नुस्, नभए सभामुखले राजीनामा दिनुस्’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामू दुई वटा विकल्प रहेको दोहोर्‍याएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख समक्ष दुई वटा विकल्प रहेको आफूहरुले सम्झाएको बताए ।

‘तपाईंका सामुन्नेमा दुईटा विकल्प छन् । एउटा तपाईंले यथासिघ्र नेकपा एमालेले निष्काशन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुस् । बिलम्ब भए पनि र गल्ती महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस’ सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले भने ।

एमाले आफै अन्यायमा परेको उल्लेख गर्दै उनले थपे, ‘एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन ।’ जबसम्म सभामुखले आफूहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७