देउवालाई दुई तिहाइ


७ पुष २०७८, बुधबार
deuwa 1

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो ।

मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ । पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ । नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन् ।

चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट निर्वाचित भएका छन् । इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएकी निवर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् । उनलाई पछि पार्दै मधेसी महिला समूहबाट मञ्जुकुमारी यादव, नागिना यादव, मुक्ताकुमारी यादव र मीनाक्षी झा निर्वाचित भएका छन् । मुक्ताकुमारीले अहिलेसम्मको सर्वाधिक मत पाएकी छन् ।

त्यस्तै मधेसी समूहका पुरुप पाँचमा देउवाइतर समूहबाट उम्मेदवार बनेका चन्द्रमोहन यादव मात्र निर्वाचित भएका छन् । पूर्व राष्ट्रपति रामवरण यादवका छोरा यादवबाहेक अजय चौरासिया, दिनेशकुमार यादव,महेन्द्रकुमार यादव र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । व्यवसायी चौधरी पछिल्लो समय कांग्रेसमार्फत राजनीतिमा सक्रिय छन् ।

मुस्लिम महिला एक जनासहित तीन पदका लागि भएको निर्वाचनमा जाबेदा खातुन जागा,अब्दुल रञ्जाक र अब्दुल सतार निर्वाचित भएका छन् । उनीहरू तीनै जना देउवा समूहबाट उम्मेदवार बनेका हुन् । वाग्मती र प्रदेश १ मा देउवा र इतर समूहबाट एक/एकजना निर्वाचित भएका छन् । वाग्मतीबाट ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसी निर्वाचित भएका छन् ।

रञ्जित देउवा र केसी नेता प्रकाशमान सिंहनिकट नेता हुन् । प्रदेश १ बाट अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । अर्याल देउवा र कोइराला इतर पक्षबाट उम्मेदवार बनेका थिए । प्रदेश १ र वाग्मती प्रदेशको महिलातर्फ महिन्द्राकुमारी लिम्बु र उर्मिला नेपाल केसी निर्वाचित भएका छन् । दुवै देउवा समूहबाट उम्मेदवार थिए । कणर्ाली प्रदेशबाट देउवा पक्षका दुई नेता निर्वाचित भएका छन् ।

निवर्तमान केन्द्रीय सदस्य हृदयराम थानीलाई पछि पार्दै कणर्बहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन् । महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छन् । त्यस्तै सुदुरपश्चिम प्रदेश महिलमा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छन् ।

गण्डकी प्रदेश पुरुषमा धुब्र वाग्ले र कृष्णचन्द्र नेपाली निर्वाचित भएका छन् । वाग्ले देउवा समूहबाट उम्मेदवार बनेका थिए । गण्डकीबाट सरस्वती तिवारी, थारु खुलातर्फ योगेन्द्र चौधरी, रामजनम चौधरी, कल्पना चौधरी,जीवन राना निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट एक महिलासहित तीन पदमा चन्द्रबहादुर केसी,देवेन्द्रराज कँडेल र शिला खड्का निर्वाचित भएका छन् । उनीहरू सबै देउवा समूहका हुन् ।

खुला ३५ मध्ये २५ केन्द्रीय सदस्यका साथै अपांगता,अल्पसंख्यक खुला र प्रदेश २ बाट एक महिलासहित तीन पदमा पनि देउवा पक्षीय नेताले नै जितेका छन् । बाँकी सात समूहको जारी मतगणनामा पनि देउवा समूहबाट उम्मेदवार बनेका अधिकांश नेताले अग्रता लिएका छन् । बुधबार बिहानसम्म सबै मतपरिणाम आइसक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

साँझसम्म आएको ९२ पदको परिणाममा सभापति देउवासहित ७३ जनाले जित निकालेका छन् भने इतर पक्षबाट जम्मा १८ नेताले मात्र जितेका छन् । महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माको झुकाव बढी देउवा समूहसँगै रहेको छ । तर शर्मा प्रकाशमान सिंहको समूहमा जोडिएर महामन्त्रीको उम्मेदवार बनेका थिए । उनले आफू कुनै पनि गुटमा नरहेको बताउँदै आएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७