घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु


७ पुष २०७८, बुधबार
IMG 20211222 101049 8FP6tVHtqj

रौतहट । रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जलेर दुई बालबालिकाको ज्यान गएको हो । । मृत्य हुनेमा फतुवा बिजयपुर-१ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह छन् ।

बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षीय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले बताए ।

मदन यादवको घरमा लागेको आगो छेउमै दाइँ गर्न राखिएको धानमा सल्किएको थियो । सो क्रममा खेलिरहेका बालबालिका आगलागीमा परेका थिए । आगलागीबाट मदन यादवको घर तथा घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । त्यसैगरी रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच फतुवा बिजयपुर, कटहरिया, बौधीमाई,राजपुर,परोहा लगायत नजिकको कुनै स्थानीय तहमा आगो निभाउने दमकल उपलब्ध छैन । प्रहरीको अनुरोधमा जिल्ला सदरमुकाम गौरबाट आएको दमकल आगलागी भएको झण्डै डेढ घण्टा पछि साढे ३ बजे घटनास्थल फतुवा बिजयपुर-१ बरगिनिया गाउँमा पुगेको थियो ।

रौतहटको १८ वटै स्थानीय तह मध्ये प्रायः सबै तहका प्रमुख उपप्रमुखलाई चढ्न करोडौंको लगानीमा बिलासी गाडीहरु खरिद भएको छ । तर कुनै पनि स्थानीयतहका प्रमुखहरुले दमकल खरिद नगरेको कारण सो क्षेत्रमा आगलागीको घटना हुँदा दमकलको लागि घण्टौ कुर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७