विदेश जानेहरुका लागि काठमाडौंका यी केन्द्रबाट दिइँदैछ एकपल्ट लगाए पुग्ने जोन्सनको खोप


७ पुष २०७८, बुधबार
1626762081

काठमाडौं । सरकारले रोजगारीलगायतका शिलशिलामा विदेश जानेहरुलाई प्राथमिकता दिएर काठमाडौका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन थालेको छ ।

सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । यी अस्पतालहरुबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइन्छ । जोन्सनको खोप भने विदेश जानेहरुलाई प्राथमिकतामा राखेर दिन थालिएको उनले बताए ।

जोन्सनको खोप एक डोज मात्रै लगाउँदा हुने भएकाले विदेश जानेहरुले यही खोप खोज्ने गरेको छन् । गएको बिहीबार नेपालमा जोन्सन एण्ड जोन्सनको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा ल्याएपछि काठमाण्डौका अस्पतालहरुबाट वितरण थालिएको हो ।

यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो । तर खोप पर्याप्त नहुँदा विदेश जानेहरुले पाउन सकेका थिएनन् ।

जोन्सनको खोप पाउने काठमाण्डौका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन पाइने खोप शाखाले जनाएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन र दुई मात्रा लगाउनुपर्ने भेरोसेल र कोभिसिल्ड खोप लगाउन सकिनेछ । खोप लगाउन छुटेका १८ वर्षमाथिका नागरिकलाई तोकिएको केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७