माओवादी केन्द्र प्रदेश-१ : नौं पदाधिकारीमा ४० आकांक्षी, अध्यक्षको दाबेदार नै ५ जना


७ पुष २०७८, बुधबार
25729008651813279 n 1639530771

मोरङ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर-१ को नेतृत्व चयन गर्न निर्वाचनको तयारी तीब्र रुपमा भइरहेको छ ।
पार्टीको प्रदेश सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि कार्यदल गठन गरिएको थियो । धेरै आकांक्षी भएपछि कार्यदलले समेत पदाधिकारी चयन गर्न नसकेपछि अन्ततः चुनावी प्रक्रियामा जाने तयारी भएको हो । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि ४० भन्दा धेरै मैदानमा उत्रिएका छन् ।

पार्टीको विराटनगर, तीनपैनीस्थित प्रदेश पार्टी कार्यालयमा अध्यक्षसहितका पदाधिकारीका आकांक्षीले मत माग्न थालेका छन् ।
प्रदेश कमिटीको अध्यक्षमा साता जनाले दाबी गरेका छन् । तीन उपाध्यक्षका लागि एक दर्जनभन्दा धेरै र एक सचिवका लागि ५ जनाभन्दा धेरैले दाबी गरिरहेका छन् । आकांक्षीले सामाजिक सञ्जालमार्फत यसअघि नै मत माग्न थालेका थिए । चुनावी प्रक्रियामै जाने भएपछि पार्टी कार्यालयमा भेला भएका मतदातासँग पनि मत माग्न थालेका हुन् ।

माओवादी केन्द्रका अनुसार अध्यक्षमा ६ जनाले दाबी गरिरहेका छन् । यो दौडमा सुनसरीका शिवकुमार डाँगी, पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) छन् ।

प्रदेश उपाध्यक्षमा झापाका सीपी कडरिया, खोटाङका ध्रुव बुढाथोकी (धीरेन), र विराटनगरका भोगेन्द्र यादव आकांक्षी छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दिरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना)लगायत छन् ।

सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले दाबी प्रस्तुत गरेका छन् । सहसचिवमा सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । कोषाध्यक्षमा सुनसरीका मदन चुँडालले दाबी गरेका छन् ।

माओवादी केन्द्रको विधानानुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७