प्रदेश-२ कांग्रेस अधिवेशन : ७२ पदका लागि १७४ जनाको उम्मेदवारी


७ पुष २०७८, बुधबार
congress election pra 2 foN6Ez2uS6

जनकपुर । प्रदेश २ नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले जारी गरेको अन्तिम नामावली अनुसार ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो । बिहान ८ बजेर ३० मिनेटमै अन्तिम नामावली प्रकाशन गर्ने भनिए पनि ११ बजेर ३५ मिनेटमा अन्तिम नामावली प्रकाशित भएको हो ।

निर्वाचनमा निधि-कोइराला समूहबाट प्रदेश २ को भौतिक पूर्वाधार रामसरोज यादव र देउवा समूहबाट रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेवारी दिएका हुन् । यस्तै दुई उप-सभापतिका लागि पाँचजनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधि-कोइराला समूहबाट धनलाल ठोकर र बिनोद कुमार खनालले उप-सभापतिमा उम्मेदवारी दिएका हुन् । रामाधार प्रसाद यादव भने स्वतन्त्र रुपमा उप-सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

त्यस्तै २ महामन्त्रीका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ । निधि-कोइराला समूहबाट नरेश यादव र हरेश महतोको उम्मेदवारी परेको छ भने बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादव देउवा समूहबाट उम्मेदवारी दिएका हुन् । बिनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै २ सह-महामन्त्रीमा देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरीको उम्मेदवारी परेको छ । निधि-कोइराला समूहबाट सह-महामन्त्रीमा अरविन्द अमात्य र विनोद यादव उम्मेदवार छन । महिलातर्फ १ सह-महामन्त्रीका लागि देउवा समूहबाट रीता यादव उम्मेदवार छन् । महिलातर्फ निर्मला सुवेदी निधि-कोइराला समूहबाट उम्मेदवारी दिएकी छिन् । त्यस्तै सह-महमन्त्री खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जनाको उम्मेदवारी परेको हो । प्रदेश सदस्य महिला ७ पदका लागि १२, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाति खुला १ पदका लागि ३, प्रदेश सदस्य मधेशी खुल्ला ७ पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १०, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७