एमसीसी पास गर्ने चर्चा चलिरहेका बेला चिनियाँ राजदूतको एमाले अध्यक्ष ओलीसँग भेट


७ पुष २०७८, बुधबार
KP Sharma Oli and Hou Yanqi

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज (बुधबार) भेट गरेकी छन् । राजदूत होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी हुन् ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीसँग भेट गरेको पुष्टि गरेका छन् । ‘ओली अध्यक्ष निर्वाचित भएपछि चिनियाँ राजदूतसँग पहिलोपल्ट भेट भयो’, उनले सुनाए, ‘समसामयिक परिस्थितिबारे छलफल भएको छ । बैठकमा म सहभागी थिइनँ । विस्तृत कुरा था भएन ।’

नेपालको संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अनुमोदनबारे दलहरुबीच मतभेद बढिरहँदा चिनियाँ राजदूतले ओलीलाई भेटेर आफ्ना विचार राखेकी हुन् । यद्यपि त्यसको स्वतन्त्र पुष्टि भएको छैन । विदेश बिभाग प्रमुख भट्टराईले भेटमा दुई जनाबीच एमसीसीबारे छलफल नभएको दाबी गरे ।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा चिनियाँ विज्ञहरुले एमसीसीलाई अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटिजीको अंगका रुपमा ब्याख्या गर्दै उक्त रणनीतिमा सहभागी हुनु नेपालको हितमा नरहेको उल्लेख गरेका थिए । कतिपय चिनियाँ विज्ञले एमसीसी अमेरिकाको चीन घेर्ने विश्व रणनीतिको हिस्सा रहेको भन्दै त्यसमा सहभागी हुँदा नेपालले विचार पुर्‍याउनुपर्ने बताएका थिए ।

एमसीसी अनुमोदनको बिषय संसदको कार्यसूचीमा अहिलेसम्म पर्न सकेको छैन । प्रमुख प्रतिपक्षी एमालेले आफू एमसीसी अनुमोदनका पक्षमा नरहेको बताउँदै आएको छ । उसले एमसीसीबारे प्रधानमन्त्री देउवाले यही साता डाकेको सर्वदलीय बैठक बहिष्कार गर्‍यो । एमाले सचेत विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा नरहेको स्पस्ट पारिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७