चार महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृत


७ पुष २०७८, बुधबार
substation

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ ।

सात उद्योगलाई करिब १११ मेगावाट विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको प्राधिकरणले जनाएको छ । पाँच वटा उद्योगहरुले माग गरेको करिब ९८.८ मेगावाटको जीआईएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत, जीआईएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरुमा थप करिब ३६० मेगावाट विद्युत् खपत हुने देखिएको छ । थप विद्युत्को माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरु छन् ।

जीआईएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिल उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले माग बमोजिम विद्युत् उपलब्ध गराउन सकिने/नसकिने अवस्थाको निक्र्यौल गरिन्छ । जीआईएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिइन्छ ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकेर खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन समय सीमासहितको प्रक्रिया निर्धारण गरिएको छ ।

chart

ठूलो परिमाणमा विद्युत् माग गर्ने ग्राहकहरुलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियम अनुसार गर्नु पर्ने जीआईएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीमा सहितको प्रक्रिया लागु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत् आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए । अहिलेको माग देशमा उत्पादित विद्युत् यहींभित्र खपत गर्न उत्साहजनक अवस्था रहेको उनले बताए ।

‘औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ, लोड स्वीकृति भएका उद्योगलाई प्रसारण तथा वितरण प्रणालीले धानेसम्म तत्कालै विद्युत् उपलब्ध गराएका छौं, केहीले लोड स्वीकृत गराएर आफ्ना संरचनाहरु बनाइरहेका छन्, त्यस्ता उद्योग सञ्चालनमा आउनु पहिले नै विद्युत् दिने गरी लाइन तथा सबस्टेसनको विस्तार र सुदृढीकरण गरिरहेका छौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७