म्यान्मारको खानीमा बेपत्ताको संख्या सय पुग्यो


८ पुष २०७८, बिहीबार
thumb 12

काठमाडौं । म्यान्मारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा बुधबार गएको पहिरोमा कम्तीमा सय जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार अधिकांश पीडितहरू गैरकानुनी रूपमा खानी उत्खनन कार्यमा संलग्न थिए ।

उद्धारकर्ताहरूले पाकान्टस्थित खानी नजिकैको तालमा हराइरहेकाहरूको खोजी गरिरहेका छन् । हालसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ । उत्तरी कचिन प्रान्तको पाकान्ट क्षेत्रमा बुधबार बिहान पहिरो गएको हो ।

खानीमा सञ्चालित लरीहरूले खुला खाल्डामा फालेको ढुंगामाटोको ठूलो परिमाण बगेका कारण पहिरो गएको अधिकारीहरूको भनाइ छ । म्यान्मार जेडका लागि विश्वकै एक प्रमुख स्रोत हो । त्यहाँका खानीहरूमा हुने दुर्घटनामा बर्षेनी सयौं मानिसको ज्यान जानेका गरेको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार करिब २ सय जना उद्धारकर्ताहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् । ‘हामीले २५ जनालाई अस्पताल पठाएका छौं र एक जना मृत फेला परेका छन्,’ उद्धार टोलीका सदस्य को नीले भने । उनले कम्तीमा सय जना हराइरहेको अनुमान गरेका छन् । सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण नजिकैको एक ताल फुट्दा १६० जनाभन्दा बढीको मृत्यु भएको थियो । मारिनेमध्ये अधिकांश आप्रवासी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७